शनिबार र आइतबार अत्यधिक वर्षा हुने, सतर्क रहन आग्रह



काठमाडौं । मनसुनी वायु थप सक्रिय भएकाले आज र भोलि (शनिबार र आइतबार) अत्यधिक वर्षाको सम्भावना देखिएको छ । अरब सागर र बङ्गालको खाडीमा उत्पन्न भएको मनसुनी वायु आजदेखि थप सक्रिय रहने मौसमविद्ले पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले देशका धेरैजसो ठाउँमा मौसम बदली भएर वर्षा भइरहेको छ । बागमती, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका केही क्षेत्रमा पानी परिरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाले आज र भोलि मनसुनी वायु बढी सक्रिय हुँदा देशका केही ठाउँमा आरीघोप्टे वर्षाको सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।

महाशाखाले मौसमी बुलेटिनमार्फत आउँदो २४ घण्टामा कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका केही ठाउँ तथा लुम्बिनी प्रदेशका तराई भू–भागका एक–दुई ठाउँमा आरीघोप्टे वर्षाको सम्भावना रहेको जनाएको छ । पर्सी सोमवारदेखि मात्रै मौसम क्रमिक रुपमा सुधार हुने जनाइएको छ ।

यसैबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सूचना निकालेर सोमवारसम्म विभिन्न ठाउँमा बाढी–पहिरोको जोखिम बढ्ने भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

विशेषगरी मधेश प्रदेशको तराई, नारायणी, बागमती, कोशी र कर्णाली नदी क्षेत्र, काठमाडौं उपत्यका र पूर्वी तराईमा उच्च जोखिम रहेको प्रधानमन्त्री कार्यालयको सूचनामा उल्लेख छ ।

प्रकाशित मिति: १८ आश्विन २०८२, शनिबार

प्रतिक्रिया दिनुहोस्