काठमाडौं प्रवेश गर्ने सबै राजमार्ग अवरुद्ध
काठमाडौँ, असोज १८ । अविरल वर्षासँगै राजधानी काठमाडौँ उपत्यका प्रवेश गर्ने सबै राजमार्गहरु अवस्द्ध बनेका छन् ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार पृथ्वी राजमार्ग, हेटौंडा हुँदै काठमाडौं आउने लोकपथ, मकवानपुर हुँदै काठमाडौं प्रवेश गर्ने फर्पिङ सडक अवस्द्ध बनेका छन् । वीपी राजमार्गमा भने भारी वर्षाका कारण सवारी सञ्चालनका लागि रोक लगाइएको छ ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार पृथ्वी राजमार्गको जोहाङखोलामा पहिरो खस्दा सडक पूर्णरुपमा अवरुद्ध बनेको छ ।
धादिङको बेनिघाट रोराङ गाउँपालिका–१० जोहाङखोला नजिक पहिरो खस्दा चितवन तथा पोखरा हुँदै धादिङ भएर काठमाडौँ आउने–जाने सवारी साधनको आवागमन पूर्णरुपमा रोकिएका हुन् । हेटौंडा हुँदै काठमाडौं आउने कान्ति लोकपथमा ठुला गाडीहरू संचालन भएका छैनन् ।
मकवानपुर हुँदै काठमाडौँ आउने फर्पिङको बाटो पनि पहिरोका कारण अहिले अवरुद्ध बनेको छ ।
प्रकाशित मिति: १८ आश्विन २०८२, शनिबार












