इजरायल र हमासबीच इजिप्टमा वार्ता



काठमाडौं । ट्रम्पको गाजा शान्ति योजनामाथि इजरायल र हमासबीच इजिप्टमा वार्ता भइरहेको छ ।

वार्तामा इजिप्ट र कतारका अधिकारीहरूले दुवै पक्षसँग छुट्टाछुट्टै भेटघाट गर्ने बताइएको छ । हमासले सबै इजरायली बन्धकहरूलाई मुक्त गर्ने र त्यसको बदलामा इजरायलले सयौँ प्यालेस्टिनी बन्दीहरूलाई रिहा गरिनेछ ।

हमासले शान्ति योजनाका केही प्रस्तावहरूलाई समर्थन जनाए पनि आफ्ना हतियार त्याग्ने र गाजामा भविष्यमा आफ्नो भूमिका समाप्त गर्नेजस्ता मुख्य मागहरूमा अझै स्पष्ट जवाफ दिएको छैन ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले शनिबार आगामी केही दिनभित्र बन्धक मुक्तिको घोषणा गर्न सक्ने आशा व्यक्त गरेका थिए ।

७ अक्टोबर २०२३ मा हमासको आक्रमणमा परि करिब १२ सय मानिस मारिएका थिए भने २५१ जना बन्धक बनाइएका थिए । त्यसपछि इजरायलले गाजामा सैन्य अभियान सुरु गरेको थियो। हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार, सो अभियानमा हालसम्म ६७ हजार १६० जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति: २१ आश्विन २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्