एक खेलअगावै ‘सुपर सिक्स’ पुगेका नेपाल र जापान खेल्दै



काठमाडौं । ओमानमा जारी आईसीसी टी–२० विश्वकप छनोट प्रतियोगितामा नेपालले आज दोस्रो खेल खेल्दैछ । नेपाल र जापानबीचको खेल नेपाली समय अनुसार, साँझ ४ः१५ बजे शुरू हुनेछ ।

पहिलो खेलमा जीत हात पारेपछि उत्साही देखिएको नेपालले दोस्रो खेलमा तुलनात्मक रूपमा कमजोर प्रतिद्वन्द्वी जापानको सामना गर्नेछ ।

उक्त खेलमा जापानलाई हराउन सके नेपाली टोली समूह ‘बी’ को विजेता मात्रै होइन, सुपर सिक्समा अतिरिक्त अंकसमेत लिएर जाने छ ।

नेपाल र जापान यसअघि नै सुपर सिक्समा पुगिसकेका छन् । जापानले बिहीबार कुवेतलाई ५ विकेटले स्तब्ध पारेपछि समूह ‘बी’ बाट जापान र नेपाल १ खेल खेल्नुअगाडि नै सुपर सिक्समा प्रवेश गरेका हुन् ।

कुवेत भने दुई खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । नेपाली टोलीले बुधबार राति खेलिएको आफ्नो पहिलो खेलमा कुवेतलाई ५८ रनको फराकिलोअन्तरले हराएको थियो ।

प्रकाशित मिति: २४ आश्विन २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्