बंगलादेशमा कपडा कारखाना आगलागी हुँदा कम्तीमा १६ जनाको मृत्यु
ढाका । बंगलादेशको राजधानी ढाकास्थित मीरपुर क्षेत्रमा एउटा कपडा कारखानामा भीषण आगलागी हुँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ ।
फायर सर्भिसका अनुसार जलेर पहिचान गर्न नसकिने अवस्थामा १६ वटा शव भेटिएका छन् भने मृतकको संख्या अझै बढ्न सक्नेछ । मंगलबार चार तले कारखानामा आगलागी भएपछि बेपत्ता भएका आफ्ना प्रियजनको खोजीमा आफन्तहरू शोकाकुल हुँदै भेला भएका थिए।
मध्याह्नतिर लागेको आगो तीन घण्टापछि नियन्त्रणमा आएको थियो । अधिकारीहरूका अनुसार रसायन गोदाममा ब्लीचिङ पाउडर, प्लास्टिक र हाइड्रोजन पेरोक्साइड जस्ता प्रज्वलनशील वस्तुहरू भण्डारण गरिएको थियो ।
प्रहरी र सेनाले कारखाना र गोदामका मालिकहरू पत्ता लगाउने प्रयास गरिरहेका छन्। सन् २०१३ मा ढाकामा भवन भत्किँदा १ हजार १ सय भन्दा बढी मानिसको मृत्यु भएको थियो ।
प्रकाशित मिति: २९ आश्विन २०८२, बुधबार
















