रूपान्तरणका लागि विद्यालय स्तरमै ध्यान सिकाउने अभियान
काठमाडौँ ३१ असोज । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको आयोजनामा शुक्रबार ‘स्वस्थ्य, सिर्जनशील र सकारात्मक जीवनका लागि स्वजागरण’ कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री माननीय महावीर पुनले शिक्षाको गुणस्तर उकास्न शिक्षक र विद्यार्थीको दिमाग ठिक हुनु पर्ने बताउँदै योग र ध्यानले दिमाग ठिक बनाउँने बताउनु भयो । उहाँले भन्नुभयो– ‘मन शुद्ध गरेर सकारात्मक सोच विकास गर्न र शिक्षाको गुणस्तर बढाउन शिक्षा क्षेत्रमा योग ध्यानको व्यावहारिक प्रयोगले धेरै सहयोग गर्ने रहेछ ।’
कार्यक्रममा जीवन विकास विशेषज्ञ एल पि भानु शर्माले शिक्षाले स्वस्थ शरीर, शान्त मन र ऊर्जाशील चेतना भएको व्यक्ति निर्माण गर्नु पर्ने बताउनुभयो ।
देश र नागरिकले सदाचार र सुशासन खोजेको बताउँदै त्यसका लागि शिक्षा क्षेत्रको भूमिका महत्त्वपूर्ण हुने बताउनु भयो । त्यसका लागि अध्यात्मले काम गर्ने बताउँदै देशभरका विद्यालयमा प्राथमिक तहदेखि नै विद्यार्थीलाई ध्यान सिकाउनु पर्ने बताउँदै स्वजागरण ध्यान विधिको अभ्याससमेत गराउनु भयो ।
कार्यक्रममा सहभागी प्रधानाध्यापक संघ नेपालका अध्यक्ष सुदाम गौतमले यस्ता कार्यक्रम यो समयका लागि सबैभन्दा आवश्यक रहेको बताउनु भयो । उहाँले विद्यार्थीको जीवन रूपान्तरणका लागि यस्ता कार्यक्रम विद्यालयमा कार्यान्वयन गर्ने बताउनु भयो ।
कार्यक्रममा शिक्षा तथा मानव स्रोत विकास केन्द्रले तयार गरेको योग ध्यानका ५, १५ र २५ मिनेटका भिडियोसमेत सार्वजनिक गरिएको थियो ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय केशर महलमा भएको कार्यक्रममा मन्त्रालयका सचिव, सहसचिवलगायतका अधिकृत र प्रधानाध्यापक संघ नेपालका पदाधिकारीहरूको सहभागिता थियो ।



प्रकाशित मिति: ३१ आश्विन २०८२, शुक्रबार












