विपिनको आज महाकाली नदीमा अन्तिम संस्कार गरिँदै



महेन्द्रनगर । सोमबार बेलुकी तिहारको रौनकसँगै लक्ष्मीपूजा चलिरँदा कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाषीस्थित मालिकार्जुन टोलमा भने सन्नाटा छाएको छ ।

दुई वर्षअघि अध्ययनका सिलसिलामा इजरायल गएका विपिन जोशीको हमासको नियन्त्रणसँगै हत्या भयो । चरणबद्ध रूपमा हमासको नियन्त्रणमा रहेका बन्धक सकुशल रिहा भए पनि कञ्चनपुरका जोशीको भने शव बाकसमा दुई वर्षपछि आउँदा परिवारसँगै सिङ्गो टोल शोकमय बनेको छ ।

विपिनकी आमा पद्मा र बहिनी पुष्पा उहाँको सकुशल रिहाइका लागि इजरायल, अमेरिकासम्म पुगिन्, तर विपिनको परिवारसँगै सबैतिरबाट रिहाइका लागि भएको प्रयास सार्थक हुन सकेन । केही दिनअघि मात्रै हमासले विपिन मारिएको विषय सार्वजनिक गरे पनि सोमबार बिहानसम्म आमा पद्मालाई विपिनको अवस्थाका बारेमा जानकारी दिइएको थिएन ।

बहिनी पुष्पाले दाइको निधनको खबरले आधिकारिकता पाएपछि घरमा तिहारका लागि तयार पारिएका सयपत्री फूल उखेलेको जोशी परिवारको भनाइ छ ।

’बिहिनी पुष्पा यसपालि भाइटीकामा दाजुसित भेट हुनेछ भन्ने आशामा थिइन्,’ परिवारका सदस्य किशोर जोशीले भने, ’लक्ष्मीपूजाका दिन विपिनको शव आँगनमा आइपुग्दा परिवार शोकमा डुबेको छ ।’ दुई वर्षदेखि विपिन आउने प्रतिक्षामा रहेको जोशी परिवार सम्हालिन सकेका छैन ।

सोमबार दिउँसो काठमाडौँ पु¥याइएको विपिनको शव नेपाली सेनाको स्काई ट्रकबाट बेलुकी अबेर धनगढी पु¥याइएको थियो । उहाँको शव परिवारलाई हस्तान्तरण गर्न नेपालस्थित इजरायली दूतावासका पदाधिकारी विपिनको घरसम्म पुगेका किशोरले जानकारी दिए । उनका अनुसार विपिनको अन्तिम दाहसंस्कार आज मंगलबार बिहान महेन्द्रनगरस्थित महाकाली नदीमा गरिनेछ ।

इजरायलले पठाएको फरेन्सिक परीक्षणको रिपोर्टमा विपिनको टाउकोमा गोली लागेर मृत्यु भएको उल्लेख गरिएको छ । इजरायलको ‘द नेसनल सेन्टर अफ फरेन्सिक मेडिसिन’को उक्त परीक्षण रिपोर्टमा टाउकोमा गोली लागेर मृत्यु भएको उल्लेख गरिएको छ ।

दुई वर्षअघि सुदूरपश्चिम विश्वविद्यालयको ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका विपिन इजरायल पुगेको एक महिनामै हमासको आक्रमणमा परेका थिए । उक्त आक्रमणमा परेर सुदूरपश्चिम विश्वविद्यालयका १० विद्यार्थीको मृत्यु भएको थियो भने विपिनलाई बन्धक बनाइएको थियो । इजरायल र हमासबीच युद्धबिराम भएपछि विपिनको मृत्यु भएको पुष्टि भएको थियो ।

बहिनी पुष्पाको भाइटीका लगाउने सपना अधुरै
दुई वर्षदेखि बहिनी पुष्पाको एउटै आग्रह हुन्थ्यो यसपटकको भाइटीका लगाउन पाउँ । तर, त्यो सपना पूरा भने हुन सकेन । दुई वर्षपछि तिहारकै दिन दाइको शव घरमा पुगेपछि उनी सम्हालिन सकेकी छैनन् ।

यसपटक पनि तिहारमा भाइटीका लगाउने ठूलो आशा बोकेर बसेकी उनी आमासँगै दाइको रिहाइका लागि इजरायलहुँदै अमेरिकासम्म पुगेर हरसम्भव प्रयास गरे । विडम्बना, बहिनी पुष्पा र आमा पद्मा अमेरिकामै रहेको बेला विपिन अस्ताएको दुःखद खबर सुन्नुप¥यो । हमासद्वारा बन्धक बनाइएका बेला ज्यान गुमाएका विपिनको शव दुई वर्षपछि सोमबार राति लक्ष्मीपूजाकैै दिन कफिनमा घरमा पुग्दा गाउँमै सन्नाटा छाएको छ ।

विपिनको शव आज बिहान महाकाली नदीमा अन्तिम संस्कार गरिने परिवारका सदस्य किशोरले जानकारी दिए । ’भाइ फर्किने ठूलो आशा थियो,’ उनले भने, ’तर, सबै सपनामाथि वज्रपात भएको छ । बोल्ने र भन्ने शब्द नै रहेन ।’ रासस

प्रकाशित मिति: ४ कार्तिक २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्