सेवा, करुणा र मानवतामार्फत विश्व शान्तिमा योगदान दिन राष्ट्रपतिको आह्वान
काठमाडौँ, १६ असार । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीहरूको जीवन दर्शन सेवा, करुणा, प्रेम, मानवता र शान्तिको उच्चतम अभ्यासबाट अभिप्रेरित भएको बताए।
रोटरी क्लब अफ भादगाउँद्वारा राष्ट्रपति भवन शीतल निवासमा मङ्गलबार आयोजित सम्मान कार्यक्रममा राष्ट्रपति पौडेलले सहकार्य, सद्भाव र सहिष्णुताले असल मार्गमा हिँड्न प्रेरित गर्ने बताए।
“यसलाई हाम्रो काम, अभ्यास र आचरणद्वारा मूर्तरूप दिएर विश्व शान्ति, प्रगति र मानवकल्याणका लागि समर्पित गर्नु हामी सबैको साझा धर्म हो,” उनले भने।
राष्ट्रपति पौडेलले निस्वार्थ भावले मानव सेवामा समर्पित हुनु नै सबैभन्दा ठूलो धर्म भएको उल्लेख गर्दै विश्व शान्ति, अन्तर्राष्ट्रिय सहकार्य र मानव कल्याणका क्षेत्रमा रोटरीले देखाएको प्रतिबद्धता आजको बदलिँदो परिवेशमा अझ सान्दर्भिक बन्दै गएको बताए।
समाजसेवा, मानवता र शान्तिको अभियानमा रोटरीको योगदान प्रशंसनीय रहेको उल्लेख गर्दै उनले सेवा, मित्रता, सद्भाव र विश्वमानवतामा आधारित यस संस्थाका सदस्यहरू समाज रूपान्तरणको सत्कार्यमा सक्रिय रहेको बताए।
संयुक्त राष्ट्रसङ्घको चार्टर लेखनमा रोटरीले दिएको योगदान स्मरणीय रहेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले पोलियो उन्मूलन, प्रतिभाशाली युवालाई छात्रवृत्ति, साथै नेपाल र भुटानमा शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ, वातावरण संरक्षण, विपद् व्यवस्थापन तथा समुदाय विकासका क्षेत्रमा संस्थाले पुर्याएको योगदान उदाहरणीय रहेको बताए।
कार्यक्रममा १४ जना पूर्व डिस्ट्रिक्ट गभर्नर तथा क्लबका संस्थापक अध्यक्षलाई सम्मान गरिएको थियो।
प्रकाशित मिति: १६ असार २०८३, मंगलबार












