देशभर मनसुन सक्रिय, तीन दिन भारी वर्षाको सम्भावना
काठमाडौँ, १६ असार । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले देशभर मनसुनी वायुको प्रभाव रहेकाले आगामी तीन दिन विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ।
महाशाखाका अनुसार मङ्गलबार गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भूभाग तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका सम्पूर्ण क्षेत्रमा मनसुन विस्तार भएको छ।
आज राति कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। मधेस प्रदेश र बागमती प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा पनि भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
भोलि बुधबार र पर्सी बिहीबार देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
भोलि कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। पर्सी बिहीबार पनि देशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाको पूर्वानुमान छ।
प्रकाशित मिति: १६ असार २०८३, मंगलबार












