अवैध एजेन्टविरुद्ध विशेष अभियान, सुरक्षित वैदेशिक रोजगारीका लागि डिजिटल प्लेटफर्म सार्वजनिक



काठमाडौँ, १६ असार । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले वैदेशिक रोजगारीका नाममा हुने ठगी, साइबर अपराध र आर्थिक शोषण अन्त्य गर्न सरकारले अवैध एजेन्टविरुद्ध विशेष अभियान सुरु गरेको बताए।

मन्त्रालयले आज आयोजना गरेको कार्यक्रममा ‘Operation Illegal Agent Cleanup towards Safer Migration’ (अवैध एजेन्टविरुद्ध अभियान : सुरक्षित वैदेशिक रोजगारीका लागि) अन्तर्गत वेबसाइट र मोबाइल एपमा आधारित विशेष डिजिटल प्लेटफर्म सार्वजनिक गरिएको हो।

कार्यक्रममा मन्त्री यादवले गैरकानुनी एजेन्टको सञ्जाल अन्त्य गर्न अभियान सुरु गरिएको बताउँदै वैदेशिक रोजगारीसम्बन्धी अधिकांश उजुरी अवैध एजेन्टसँग सम्बन्धित रहेकाले सबैको सहकार्य आवश्यक रहेको बताए।

उनले एउटै व्यक्ति वा समूहविरुद्ध धेरै उजुरी परे त्यसलाई मुख्य आधार मानेर कानुनी कारबाही अघि बढाइने जानकारी दिँदै यो प्रणाली डाटामा आधारित सुशासनको सुरुआत भएको बताए।

वि.सं. २०५६ सालदेखि थाती रहेका पुराना उजुरीहरू पनि तीव्र रूपमा फर्छ्यौट गर्ने काम अघि बढाइएको मन्त्री यादवले बताए।

मन्त्रालयले स्थानीय तहबाटै श्रम स्वीकृति सहजीकरण गर्न FEMIS प्रणालीमार्फत ७५३ वटै स्थानीय तहका रोजगार सेवा केन्द्रका कर्मचारीलाई युजर आईडी उपलब्ध गराउने व्यवस्था गरेको जनाएको छ। हालसम्म ३९० स्थानीय तहका लागि युजर आईडी तयार भइसकेको र बाँकीमा काम तीव्र गतिमा भइरहेको मन्त्रालयले जनाएको छ।

आन्तरिक रोजगार व्यवस्थापन महाशाखाका प्रमुख एवं सहसचिव हेमराज तामाङले सरकारको उच्च प्राथमिकता शासकीय सुधार र सुशासन रहेको बताए। उनले १६औँ योजना र आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनलाई लक्षित गर्दै मन्त्रालयले प्रमाणमा आधारित कार्य प्रणाली (Evidence-based System) लागू गरेको बताए।

सहसचिव तामाङले जनताको गुनासो तत्काल सम्बोधन गर्न उपसचिवको संयोजकत्वमा ‘गुनासो व्यवस्थापन केन्द्र’ पनि स्थापना गरिएको जानकारी दिए।

प्रकाशित मिति: १६ असार २०८३, मंगलबार

प्रतिक्रिया दिनुहोस्