सर्वपक्षीय बैठकमा प्रधानमन्त्रीको प्रतिबद्धताः भयरहित वातावरणमा चुनाव गर्न सरकार लागिपरेकाे छ



काठमाडौँ, ४ कात्तिक । प्रधानमन्त्री सुशीला कार्कीले तोकिएकै समयमा भयरहित वातावरणमा चुनाव सम्पन्न गराउने सरकारको दृढ प्रतिबद्धता दोहोर्‍याउनु भएको छ । 

बालुवाटारमा आज आयोजित राजनीतिक दलहरूसँगको संवाद कार्यक्रममा उहाँले सरकार, मन्त्रीहरू र सुरक्षा निकाय सबै अहोरात्र खटिएको बताउनुभयो ।

प्रधानमन्त्री कार्कीले भन्नुभयो, “सरकार तोकिएकै समयमा चुनाव गराउन कटिबद्ध छ । त्यसका लागि हामी सबै जिम्मेवारीका साथ लागिरहेका छौँ । मन्त्रीज्यूहरू, सुरक्षा निकाय र सम्बन्धित निकायहरू समन्वयमा काम गरिरहेका छन् ।”

दलहरूसँग संवादमा ढिलाइ हुनुको कारणबारे प्रधानमन्त्रीले स्पष्ट पार्दै भन्नुभयो, “यसबीचमा घाइतेहरूको उपचार, सहिदका शव व्यवस्थापन र परिवारका लागि राहत, आन्दोलनकारी पक्षका आवाजको सुनुवाइ गर्नुपर्ने भयो । त्यसमा समय लाग्यो । सुरुवाती चरणमा जेनजी युवाहरूले दलहरूसँग संवाद गर्ने कुरा नै रुचाएका थिएनन् । अहिले राष्ट्रपतिज्यूले संवादको ढोका खोलिदिनु भएको छ । अब सबै दल र जेनजी प्रतिनिधिहरू बसौँ, स्थिति सामान्यीकरण गर्दै चुनावतिर जाऔँ ।”

उहाँले थप गर्नुभयो, “चुनाव सफल बनाउन सबैले आ–आफ्नो तर्फबाट भूमिका खेलौँ । यहाँहरूले व्यक्त गर्नुभएका चासो र चिन्तालाई सम्बोधन गर्न सरकार तयार छ ।”

कार्यक्रमको प्रारम्भमा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले स्वागत मन्तव्य राख्दै संवादको उद्देश्य र विषयवस्तुमा प्रकाश पार्नुभएको थियो । 

बालुवाटारमा सुरु भएको दल–सरकार संवाद कार्य सकिएको छ । पहिलो चरणमा सबै दलका प्रतिनिधिहरूले पालैपालो आफ्नो धारणा राख्नुभएको थियो । 

प्रधानमन्त्रीको सचिवालयका अनुसार, संवादमा सहभागी सबै नेताहरूले निर्वाचनमा केन्द्रित भएर धारणा राख्नुभएको छ । चुनावमा जाने विषयमा सबै दलबीच सहमति देखिएको छ । सरकारलाई सुरक्षाको वातावरण सुनिश्चित गर्नुपर्ने चासो दलहरूले राखेका छन् । एमालेले पनि सरकार चुनाव गराउन सक्दैन कि भन्ने आशंका व्यक्त गरे पनि चुनावको विरोध भने गरेको छैन ।

संवादमा सहभागी भएर धारणा राख्ने नेताहरूमा शंकर पोखरेल, पम्फा भुसाल, प्रेम सुवाल, राजेन्द्र गुरुङ, गगन थापा, स्वर्णिम वाग्ले, रेशम चौधरी, चन्दन सिंह, राजेन्द्र पाण्डे, उपेन्द्र यादव र सर्वेन्द्रनाथ शुक्ललगायत हुनुहुन्छ । दोस्रो चरणमा प्रकाशशरण महत, प्रदीप ज्ञवाली र वर्षमान पुनले आफ्नो धारणा राख्नु भएको छ ।

प्रधानमन्त्री सुशीला कार्कीको सम्बोधन सकिएपछि गृहमन्त्री ओमप्रकाश अर्यालले आफ्नो मन्तव्य राख्नुभएको छ । केहीबेर अघि बैठक सकिएको छ र नेताहरू बाहिरिनु भएको छ । सरकार र राजनीतिक दलबीचको यो संवाद अन्तरिक सरकार गठन भएपछिको पहिलो हो । 

दलहरूसँगको संवादबारे प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनालले भन्नुभयो, ‘‘सबैले आ–आफ्नो तर्फबाट खुलेर कुरा राख्नु भएको छ। चासोहरू व्यक्त भएका छन्। मुख्यतः सुरक्षा चासोमा घनीभूत छलफल भएको छ। प्रधानमन्त्रीज्यूले सरकारको मुख्य ध्येय निर्वाचन रहेको र दलहरूको सहयोगबिना त्यो सम्भव हुँदैन भन्नुभएको छ ।’’ 

प्रकाशित मिति: ४ कार्तिक २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्