रुकुमपश्चिम जिप दुर्घटनामा मृतकको संख्या ८ पुग्यो



त्रिवेणी । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–७ लिस्नेस्थित भित्री सडकखण्डमा भएको जिप दुर्घटना परी मृत्यु हुनेको संख्या ८ पुगेको छ ।

शुक्रबार साँझ जिल्ला सदरमुकाम खलङ्गाबाट आठविसकोट नगरपालिका–२ स्यालाखदी जाँदै गर्दा रा१ज ४२२ नम्बरको जिप दुर्घटना हुँदा सात जनाको घटनास्थलमै मृत्यु भएको थियो भने एक जनाको जिल्ला अस्पताल सल्लेमा पु¥याएको बेला मृत्यु भएको हो ।

मृत्यु हुनेमा आठविसकोट नगरपालिका–२ स्यालाका ३० वर्षीया कमला वली, सोही स्थानका १६ वर्षीय टेकजङ्ग बुढा, १५ वर्षीया दिलमाया बुढा, १७ वर्षीया मनिका वली, १८ वर्षीया शर्मिला विक, २२ वर्षीय गोपाल वली, आठविसकोट नगरपालिका १ कि १५ वर्षीया कल्पना नेपाल र २८ वर्षीया सविता विक रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी १० जना घाइते भएका छन् । घाइते हुनेमा आठविसकोट नगरपालिका–२ कि १७ वर्षीया सिर्जना बुढा, १५ वर्षीया सपना नेपाल, १८ वर्षीया जुना बुढा, १७ वर्षीया संगिता बुढा र १९ वर्षीया शान्ति बुढा छन् ।

त्यस्तै १७ वर्षीया अञ्जना ऐरी, २० वर्षीया महिमा ओली, १७ वर्षीया मनिषा थापा, १५ वर्षीया सविता विक र गाडी चालक ३४ वर्षीय टोपजङ्ग बुढा घाइते भएका छन् ।

नौं जना घाइतेको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ भने १८ वर्षीया जुना बुढालाई थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको प्रहरीले जनाएको छ ।

जिप सडकदेखि ७०० मिटर तल खसेको थियो । ओभर लोड र साँघुरो सडकका कारण जिप दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

प्रकाशित मिति: ८ कार्तिक २०८२, शनिबार

प्रतिक्रिया दिनुहोस्