टिकटकले नेपालबाट तीन महिनामा हटायो २५ लाख भिडियो
काठमाडौं । सामाजिक सञ्जाल प्लेटफर्म टिकटकले सन् २०२५ को दोस्रो त्रैमासिकमा नेपालबाट झन्डै २५ लाख भिडियो हटाएको जनाएको छ ।
टिकटकले आफ्नो ‘कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट’ सार्वजनिक गर्दै अप्रिलदेखि जुन २०२५ सम्म नेपालमा कुल २४ लाख ७६ हजार ३४५ भिडियोहरू हटाइएको जानकारी दिएको हो ।
प्रयोगकर्ताका लागि सुरक्षित डिजिटल वातावरण सुनिश्चित गर्ने प्रतिबद्धताअन्तर्गत उक्त भिडियोहरु हटाइएको बताइएको छ ।
यीमध्ये ९९.८ प्रतिशत भिडियोहरू टिकटकले आफैँ सक्रियतापूर्वक हटाएको थियो भने ९८.४ प्रतिशत भिडियोहरू पोस्ट भएको २४ घण्टाभित्रै हटाइएको रिपोर्टमा उल्लेख छ ।
विश्वव्यापी रूपमा टिकटकले सोही अवधिमा १८ करोड ९५ लाखभन्दा बढी भिडियो हटाएको छ, जुन प्लेटफर्ममा अपलोड भएका कुल भिडियोको करिब ०.७ प्रतिशत हो ।
यसैगरी, गलत सूचना तथा एआई–द्वारा सिर्जित भ्रामक सामग्रीलाई पनि कडाइका साथ हटाइएको टिकटकले जनाएको छ ।
भिडियोहरूबाहेक, टिकटकले आफ्नो प्लेटफर्मको विश्वसनीयता कायम राख्न ७ करोड ६९ लाखभन्दा बढी नक्कली खाता र १३ वर्षभन्दा कम उमेरका हुन सक्ने आशंकामा २ करोड ५९ लाख खाताहरू पनि हटाएको जनाएको छ ।
प्रकाशित मिति: ८ कार्तिक २०८२, शनिबार












