दूरसञ्चार सेवा विस्तार गर्दै सुशासन प्रवर्द्धन गर्ने सञ्चारमन्त्री खरेलको प्राथमिकता



काठमाडौँ ८ कात्तिक।  पर्यटकीय गन्तव्य मनाङको तिलिचो बेसक्याम्पमा असोज ३१ गते पहिलोपटक फोरजी सेवा विस्तार भएपछि स्थानीय र त्यहाँ पुग्ने पर्यटकलाई ठूलो राहत भयो । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको चासो र सक्रियतापछि तिलिचो आसपासमा भ्वाइस र डाटाको सेवा पुगेको हो ।

तिलिचोमा फोरजी सेवा विस्तारपछि प्रतिक्रिया दिँदै मन्त्री खरेलले आफूले जिम्मेवारी सम्हालेदेखि नै दुर्गम क्षेत्रमा टेलिकमको पहुँच पुर्‍याउने अभियानअन्तर्गत तिलिचोमा फोरजी सेवा पुगेको बताउनुभएको थियो । उहाँले भन्नुभयो, “सरकारले दुर्गम क्षेत्रमा भ्वाइस र डाटा पुर्‍याउने लक्ष्य लिएको छ, सोहीअनुसार तिलिचो आसपास क्षेत्रमा फोरजी सेवा सञ्चालन भएको हो, अब त्यहाँ पुग्ने पर्यटक र स्थानीयलाई ठूलो राहत भएको छ । अब हाम्रो उद्देश्य टेलिफोन र इन्टरनेट नपुगेका मुलुकका दुर्गम क्षेत्रमा सेवा विस्तार हो ।”

तिलिचोमा मात्रै होइन मन्त्री खरेलको सक्रियतामा गत असोज ३० गतेदेखि सुदूरपश्चिम प्रदेशअन्तर्गत बझाङको तलकोटमा पनि पहिलो पटक फोरजी सेवा विस्तार भएको छ । तलकोट गाउँपालिका-४ बुङ्गाडाँडामा बिटिएस टावर जडान गरेर पहिलो पटक फोरजी सेवा सञ्चालनमा ल्याइएको तलकोटमा रहनुभएका टेलिकमका प्रादेशिक निर्देशनालय, अत्तरियाका इन्जिनियर तिलक धामीले जानकारी दिनुभयो । उहाँका अनुसार तलकोट(१ र ४ सेवा सुरु भइसकेको छ भने जयपृथ्वी नगरपालिका(१ र ५ मा पनि चाँडै फोरजी सेवा सञ्चालन गरिनेछ उहाँको भनाइ छ । 

तलकोट(४ का अध्यक्ष गोरखबहादुर जेठाराले गाउँपालिकामा फोरजी सेवा सञ्चालनमा आएसँगै स्थानीयलाई आपतकालीन सम्पर्क, दैनिकी कारोबार तथा पारिवारिक सन्देश आदनप्रदानमा सहज भएको बताउनुभयो ।

गत असोज ३१ गते नै दार्चुलाको मार्मा गाउँपालिका(५ मा नेपाल टेलिकमले टुजी र फोरजी सेवा विस्तार गरेको छ । नेपाल टेलिकम दार्चुलाका प्रमुख कृष्णबहादुर गुरुङका अनुसार उक्त स्थानमा पहिले एउटा मात्रै टावर रहेकामा नयाँ टावर स्थापना गरी उक्त सेवा सञ्चालनमा ल्याइएको छ ।

प्रमुख गुरुङले भन्नुभयो, “पहिला सञ्चारको समस्या थियो । डाँडा, खोँचतिर टेलिफोनको टावर टिप्दैनथ्यो । अब स्थानीयले टेलिकमको भ्वाइस र डाटा सहज रुपमा उपयोग गर्न पाएका छन्, यसले उनीहरूको दैनिक जीवनमा सञ्चार आदानप्रदान, डिजिटल भुक्तानीलगायतमा सहज भएको छ ।”

दार्चुलाको लेकम गाउँपालिकाको सर्मौली भन्ने स्थानमा टावर निर्माण भई यथाशीघ्र टुजी र फोरजी सेवा सञ्चालनमा आउनेछ । मालीकार्जुन गाउँपालिकामा पनि टावर बनिसकेको र छिट्टै सेवा सञ्चालनमा आउने तयारी छ ।

त्यसैगरी, डोटी जिल्लाको दिपायल सिलगढी नगरपालिकामा पनि फोरजी सेवा विस्तार भएको छ । कर्णाली प्रदेशअन्तर्गत जाजरकोटको बारेकोटमा गत असोज ९ गते चट्याङका कारण अवरुद्ध टेलिफोन सेवा हालै सञ्चालनमा आएको छ । बारेकोटमा टेलिकमको सेवा अवरुद्ध भएपछि १० हजारभन्दा बढी सेवाग्राही प्रभावित भएका थिए ।

उक्त विषयमा मन्त्रालयमा प्राप्त गुनासोपछि मन्त्री खरेलले तत्कालै समन्वय र ताकेता गरेर अवरुद्ध सेवा सञ्चालनका लागि पहलकदमी लिनुभएको थियो । टेलिकमको प्राविधिक टोलीले अवरुद्ध सेवा मर्मत गरेर सेवा सञ्चालन भएको हो । स्थानीय प्रकाशमान सिंहले अवरुद्ध टेलिकमको सेवा सञ्चालन भएसँगै स्थानीयलाई ठूलो राहत मिलेको बताउनुभयो ।

नेपाल टेलिकम कर्णाली प्रादेशिक निर्देशनालय सुर्खेतले कर्णाली प्रदेशभर सञ्चार सेवाको पहुँच विस्तार अगाडि बढाएको जनाएको छ । कर्णाली प्रदेशभर फोरजी तथा फाइबरनेटको पहुँच विस्तार गरिने र हालसम्म ३७ पालिकामा सञ्चार सेवा विस्तार गरिएको निर्देशनालयले जनाएको छ । सुर्खेतको चिङ्गाड गाउँपालिका र हुम्लाको हिल्सामा पनि छिट्टै फोरजी सेवा सञ्चालन गर्ने लक्ष्य लिइएको टेलिकमले जनाएको छ । सञ्चार मन्त्रालयले जुनसुकै ठाउँमा सञ्चार सम्पर्क अवरुद्ध भएमा तत्काल मर्मत तथा पुनः सञ्चालनका लागि नेपाल टेलिकमको १४९८, एनसेलको ९००५ र मन्त्रालयको सिधा ९८५१४१०१०१ ह्वाट्सएप नम्बरमा खबर गर्न अनुरोध पनि गरेको छ ।

राष्ट्रिय सञ्चार नीति, २०४९ मा ग्रामीण क्षेत्रमा सञ्चार पहुँच बढाउने लक्ष्य लिइएको छ । सोहीअनुरुप सबै जिल्लामा दूरसञ्चार सेवा पुगे पनि केही स्थानीय तहमा अझै यो सेवाको पहुँच विस्तार हुन सकेको छैन । उक्त नीतिमा राष्ट्रिय विकासको पूर्वाधारका रुपमा दूरसञ्चार सेवाको विकास गर्न यस सेवालाई अत्यावश्यक सेवा विकसित एवं विस्तार गर्दै जाने भनिएको छ । आमजनतालाई उपयोगी, दक्ष, भरपर्दो र निर्बाध सञ्चार सेवा उपलब्ध गराउन उपयुक्त अत्याधुनिक सञ्चार प्रविधिको प्रयोग गर्दै जाने पनि नीतिमा उल्लेख छ ।

सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चारमन्त्री खरेलले कर्णाली, सुदूरपश्चिम र मधेस प्रदेशमा दूरसञ्चार सेवा विस्तारलाई विशेष प्राथमिकतामा राखेर काम गरिरहनुभएको छ । उहाँले ती क्षेत्रमा रहेको नेपाल टेलिकमका कार्यालय प्रमुख, फिल्ड इन्जिनियरलगायतलाई सेवा विस्तार र गुणस्तर अभिवृद्धिका लागि ताकेता र आवश्यक निर्देशन दिँदै स्थानीय जनप्रतिनिधि र सरोकारवालासँग समन्वयन गरिरहनुभएको छ ।

प्रकाशित मिति: ८ कार्तिक २०८२, शनिबार

प्रतिक्रिया दिनुहोस्