स्वर्ण पदक विजेता नेपाली सेनाको टोली सम्मानित



काठमाडौ। संयुक्त अधिराज्य बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास ‘क्याम्ब्रियन प्यारोल अभ्यास-२०२५ मा सर्वोत्कृष्ट अङ्कसहित स्वर्ण पदक विजेता नेपाली सेनाको टोलीलाई सम्मान गरिएको छ।

प्रधानसेनापति महारथी अशोकराज सिग्देलले आज जङ्गी अड्डामा आयोजित एक कार्यक्रमबीच ‘प्रधानसेनापति प्रशंसा निशान’ प्रदान गरेका हुन् ।

अन्तर्राष्ट्रियस्तरको सैन्य अभ्यासमा उत्कृष्ट नतिजा ल्याई नेपाल र नेपाली सेनाको छवि एवं गौरव बढाउन पुर्‍याएको योगदानको उच्च मूल्याङ्कनस्वरूप प्रतियोगितामा सहभागी १० जनालाई सम्मान गरिएको हो।

गत असोज १७ देखि २६ गतेसम्म बेलायतको वेल्सस्थित ब्रेकन क्षेत्रमा आयोजित उक्त सैन्य अभ्यासमा ३३ राष्ट्रका ११७ टोलीको सहभागी रहेको थियो।

सैन्य अभ्यासमा सहभागी टोलीहरूबीच शारीरिक सहिष्णुता, मानसिक दृढता, पेसागत ज्ञान र रणकौशललगायत दक्षताहरूको परीक्षण गरिएको थियो।

सम्मान कार्यक्रममा बलाधिकृत, बलाध्यक्ष, रथीवृन्द, अधिकृत, पदिक तथा अन्य दर्जाको उपस्थिति रहेको थियो।

प्रकाशित मिति: ९ कार्तिक २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्