राजदूत फिर्ता विवादमा अदालतमा उपस्थित हुन सरकारलाई सर्वोच्चको आदेश
काठमाडौं ९ कात्तिक । सर्वोच्च अदालतले राजदूत फिर्ता गर्ने निर्णयसहित सरकारलाई अदालतमा उपस्थित हुन आदेश दिएको छ।
न्यायाधीश विनोद शर्माको एकल इजलासले सरकारलाई राजदूत फिर्ताको विषयमा अन्तरिम आदेशबारे सुनुवाइका लागि कार्त्तिक १४ गते अदालत उपस्थित गराउन आदेश दिएको हो।
राजदूत फिर्ताको निर्णय लिइएको बारे स्पष्ट पार्न सरकारलाई झिकाइएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ।
असोज ३० गते बसेको मन्त्रिपरिषद बैठकले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका ११ देशका राजदूत फिर्ता गर्ने निर्णय गरेको थियो।
सरकारले चीन, जर्मनी, इजरायल, कतार, रुस, साउदी अरब, स्पेन, बेलायत, अमेरिका र जापानका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेपछि अधिवक्ताद्वय प्रतिभा उप्रेती र अनन्तराज लुईंटेलले राजदूत फिर्ता गर्ने सरकारको निर्णय बदरको माग गर्दै आज सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका हुन् ।
रिटमा अन्तरिम आदेशको माग गरिएको छ । कामचलाउ सरकारलाई दूरगामी महत्वको राष्ट्रिय विषयमा निर्णय गर्ने अधिकार नरहेको रिट निवेदकको दावी छ ।
प्रकाशित मिति: ९ कार्तिक २०८२, आइतबार












