बाँके राष्ट्रिय निकुञ्जमा किन कुटिए रेञ्जर र पत्रकार ?



नेपालगन्ज, ९ कात्तिक । राप्ती सोनारी गाउँपालिकाका स्थानीयले बाँके राष्ट्रिय निकुञ्जका रेञ्जर जयहरी धिताल र पत्रकार डिल्ली शाहीलाई कुटपिट गरेका हुन् ।

बाघको आक्रमण पटक–पटक भइरहँदा पनि बेवास्ता गर्नेगरेको जनाउँदै आक्रोेशित राप्तीसोनारी –९ बुच्चापुरका स्थानीयले हुँदै बाँके राष्ट्रिय निकुञ्जका रेन्जर घिताललाई कुटपिट गरेका हुन् । सो क्रममा समाचार संकलनमा गएका एकजना पत्रकार शाहीमाथि पनि कुटपिट भएको हो ।

बाघले मान्छेको ज्यान जानेगरि आक्रमण गर्दा समेत बेवास्ता गरेको भन्दै निकुञ्जका रेन्जर जयहरी धिताललाई स्थानीयले कुटपिट गरेको मध्यवर्ती सामूदायिक वनका अध्यक्ष दलबहादुर खड्काले बताए।

रिम्ना सामुदायिक वनमा घाँस दाउरा गर्न गएको बेला बाघको आक्रमणबाट मृत्यु भएका राप्तीसोनारी गाउँपालिका –९ गुरुवागाउँ नमुना टोल निवासी ४० वर्षीय इन्द्रबहादुर खत्रीको शव शनिवार विहान फेला परेको थियो । उनी शुक्रवार दिउँसोबाट बेपत्ता थिए ।

बाघको आक्रमणपछि बाँके राष्ट्रिय निकुञ्जले बेवास्ता गरेको भन्दै मृतकका आफन्त र स्थानीय आक्रोशित भएका थिए । सोही क्रममा उनीहरुले रेन्जर धिताललाई कुटपिट गरेका हुन् ।

सो घट्नाको समाचार संकलन गर्न गएका कोहलपुर टुडेका सम्पादक प्रकाशक डिल्ली शाहीमाथि कुटपिट गरिएको पत्रकार शाहीले बताए । उन स्थानीयले उनको भिडियोसमेत डिलिट गर्न लगाएको जनाए ।

पत्रकार शाहीमाथि गरिएको कुटपिटको निन्दा गर्दै प्रेस युनियन बाँके, प्रेस चौतारी बाँके र प्रेस सेन्टर बाँकेले छुट्टा छुट्टै विज्ञप्ति प्रकाशित गरेर आक्रमण र कुटपिट गर्नेलाई कानुनी दायरामा ल्याउन प्रहरी प्रशासनसँग माग गरिएको छ ।

प्रकाशित मिति: ९ कार्तिक २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्