महिला एकदिवसीय क्रिकेटको उपाधि भारतले जित्यो
काठमाडौं । आईसीसी महिला एकदिवसीय विश्वकप क्रिकेटको उपाधि भारतले जितेको छ ।
गएराति नवी मुम्बईको डीवाई पाटिल स्टेडियममा भएको फाइनलमा साउथ अफ्रिकालाई पराजित गर्दै भारत पहिलोपटक च्याम्पियन बनेको हो ।
फाइनलमा भारतले दिएको २९९ रनको लक्ष्य पछ्याएको साउथ अफ्रिका ४५.३ ओभरमा २४६ रन बनाएर अलआउट भयो ।
साउथ अफ्रिकाका लागि लौरा वोल्भाड्र्टले शतक प्रहार गरे पनि त्यो जितका लागि पर्याप्त भएन । उनले ९८ बलमा १०१ बनाएकी थिइन् । भारतकी दीप्ती शर्माले ५ विकेट लिइन् ।
त्यसअघि ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २९८ रन बनाएको थियो । शाफली बर्माले ८५, दीप्ती शर्माले ५८ र स्मृति मन्धनाले ४५ रन बनाएकी थिइन् ।
सेमिफाइनलमा भारतले अष्ट्रेलियालाई र दक्षिण अफ्रिकाले इंग्ल्याण्डलाई पराजित गर्दै फाइनलमा स्थान बनाएका थिए ।
प्रकाशित मिति: १७ कार्तिक २०८२, सोमबार
















