एकता प्रक्रियाबाट रुष्ट बनेका माओवादी नेता शर्माले पत्रकार सम्मेलन गर्दै



काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले आज विशेष पत्रकार सम्मेलन गर्ने भएका छन्।

शर्माले आज पत्रकार सम्मेलनमार्फत आफ्नो धारणा सार्वजनिक राख्न पत्रकार सम्मेलन गर्न लागेका हुन्।

पत्रकार सम्मेलन ललितपुरको बखुण्डोलस्थित सत्कार क्याफेमा दिउँसो २ः३० बजे हुनेछ।

शर्माले गतको शनिबार बसेको सचिवालय बैठकमा नेकपा एकीकृत समाजवादीसँगको एकताबारे लिखित असहमति पेस गरेका थिए। त्यसपछि उनी एकताको भारी नबोक्ने भन्दै बैठक बीचमै छाडेर बाहिरिएका थिए। आइतबार बसेको माओवादी सचिवालय बैठकमा शर्मा उपस्थित नै भएनन्।

शर्माको यो शैलीप्रति माओवादी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सन्तुष्ट छैनन्।

माओवादीले आज दिउँसो १ बजे महाधिवेशन आयोजक समितिको बैठक राखेर एकता अनुमोदन गर्दै छ। तर शर्माले भने माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको बैठकमा नगइ छुट्टै पत्रकार सम्मेलन गर्न लागेका हुन्।

एकता प्रक्रियाबाट शर्मा लगायत एकीकृत समाजवादी सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल, नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवलगायत नेताहरु रुष्ट बनेका छन् ।

प्रकाशित मिति: १८ कार्तिक २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्