स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयकले स्वास्थ्य क्षेत्रमा सुधार ल्याउँछ : मन्त्री मेहता
काठमाडौँ, १४ असार । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी विधेयकले प्रतिष्ठानहरूमा देखिएका विकृति र विसङ्गति अन्त्य गर्दै स्वास्थ्य क्षेत्रमा आमूल सुधार ल्याउने बताएकी छन्।
प्रतिनिधिसभाको आइतबारको बैठकमा ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावमाथिको सामान्य छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री मेहताले उक्त विधेयकले स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिको नियुक्ति प्रक्रियालाई पारदर्शी बनाउने बताइन्।
उनले विधेयक स्वास्थ्य क्षेत्रको सुशासन, पारदर्शिता र प्रभावकारी व्यवस्थापनका लागि महत्त्वपूर्ण हुने उल्लेख गरिन्।
छलफलपछि उक्त प्रस्ताव प्रतिनिधिसभाको बहुमतबाट स्वीकृत भएको छ।
प्रस्तावमाथिको छलफलमा सांसद अभिषेकप्रताप शाह, पारशमणि गेलाल, विश्वराज पोखरेल, आरेन राई, समीक्षा बास्कोटा, अशोककुमार चौधरी र साजिदा खातुन सिद्धिकीले भाग लिँदै विधेयक स्वास्थ्य क्षेत्रलाई थप जनमुखी, व्यवस्थित र प्रभावकारी बनाउन केन्द्रित रहेको बताएका थिए।
प्रकाशित मिति: १४ असार २०८३, आइतबार












