एमालेको नीति सही छ, एकताका लागि नीतिमा सम्झौता हुँदैन : ओली



काठमाडौँ, १४ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीको नीति सही भएकाले एकताका लागि त्यसमा सम्झौता वा पुनः छलफल गर्न आवश्यक नरहेको बताएका छन्।

जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले एमालेले राजनीतिक, सामाजिक र आर्थिकलगायत सबै क्षेत्रमा सही नीति अवलम्बन गरेको बताए।

उनले “हाम्रा नीतिहरू सही छन्। त्यसैले एमाले कुनै एकताका लागि नीतिबारे छलफल गर्ने पक्षमा छैन। हामीले राजनीतिक, सामाजिक, आर्थिकलगायत अनेक पक्षमा सही नीति निर्धारण गरेका छौँ,” भने।

अध्यक्ष ओलीले जनताको बहुदलीय जनवाद (जबज) लाई समयअनुकूल परिमार्जन गर्दै अघि बढाइने बताए।

उनले एमालेको उद्देश्य चुनावदेखि चुनावसम्म सीमित नभई समृद्ध राष्ट्र निर्माण रहेको उल्लेख गरे।

“यस अवस्थादेखि समृद्धिसम्म हाम्रो यात्रा हो। हाम्रो यात्रा ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्यसम्म पुग्ने हो। हाम्रो गन्तव्य सही छ,” उनले भने।

यद्यपि, अध्यक्ष ओलीले प्रतिगमनलाई पराजित गर्न लोकतान्त्रिक तथा वामपन्थी शक्तिबीच सहकार्य आवश्यक रहेको धारणा पनि राखे।

प्रकाशित मिति: १४ असार २०८३, आइतबार

प्रतिक्रिया दिनुहोस्