मध्यपूर्वको अवस्था सहज बन्दै गएसँगै इन्धनको मूल्य घट्छ : अर्थमन्त्री वाग्ले



काठमाडौँ, १४ असार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मध्यपूर्वको द्वन्द्वका कारण बढेको पेट्रोलियम पदार्थको मूल्य अब क्रमशः घट्ने बताएका छन्।

प्रतिनिधिसभाको आइतबारको बैठकमा आर्थिक विधेयक, २०८३ माथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटिसकेको भए पनि त्यसको प्रभाव नेपालमा पर्न केही समय लाग्ने बताए।

भारतको भारतीय आयल निगममार्फत प्रशोधित इन्धन आयात हुने भएकाले मूल्य समायोजन हुन समय लाग्ने भए पनि पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्ने अवस्थामा रहेको उहाँले बताए।

मध्यपूर्वमा द्वन्द्व चर्किएपछि उपभोक्तामाथि परेको भार कम गर्न आफू अर्थमन्त्री बनेको दुई साताभित्रै डिजेल, पेट्रोल र मट्टितेलको पैठारीमा लाग्ने भन्सार महसुल तथा पेट्रोल र डिजेलमा लाग्ने पूर्वाधार विकास करको ५० प्रतिशत छुट दिइएको उहाँले बताए।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेकाले त्यसको प्रभाव केही समयपछि नेपालमा पनि देखिने र इन्धनको मूल्य घट्ने उहाँको भनाइ थियो।

प्रकाशित मिति: १४ असार २०८३, आइतबार

प्रतिक्रिया दिनुहोस्