कम्युनिष्ट आन्दोलनलाई समयानुकूल परिष्कृत गर्नुपर्छ : पूर्वराष्ट्रपति भण्डारी



काठमाडौँ, १४ असार पूर्वराष्ट्रपति विद्या भण्डारीले समयानुकूल नीति, कार्यशैली र सङ्गठनात्मक अभ्यासलाई परिष्कृत गर्दै कम्युनिष्ट आन्दोलनलाई सुदृढ बनाउनुपर्ने बताइन।

जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आइतबार आयोजित ‘नेपालको कम्युनिष्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक विचार गोष्ठी तथा ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण समारोह’मा उहाँले कम्युनिष्ट आन्दोलन नयाँ अवसर र चुनौतीको सङ्घारमा उभिएको बताइन।

एउटा निर्वाचनको परिणामका आधारमा जनताको बहुदलीय जनवाद (जबज) को सान्दर्भिकता वा कम्युनिष्ट आन्दोलनको भविष्यबारे हतारमा निष्कर्ष निकाल्नु उचित नहुने बताउँदै उहाँले जनसम्बन्धलाई सुदृढ गर्दै समीक्षा र आत्ममन्थन आवश्यक रहेको बताइन।

रूपान्तरण हुँदै गएको सामाजिक संरचना, प्रविधिको तीव्र विकास, युवापुस्ताको नयाँ आकाङ्क्षा तथा विश्वव्यापी परिवर्तनलाई ध्यानमा राख्दै कम्युनिष्ट आन्दोलनले आफ्ना मूल आदर्शलाई समयानुकूल ढङ्गले अघि बढाउनुपर्ने उहाँको भनाइ थियो।

जनविश्वास पुनःआर्जन गर्ने आधार सिद्धान्तको यान्त्रिक पुनरावृत्ति नभई उत्तरदायी, परिणाममुखी र समयानुकूल राजनीतिक अभ्यासको विकासमा निहित रहेको उहाँले बताइन।

यसै कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देश र जनताको हितविपरीत आफूहरूले कुनै काम नगरेको बताउँदै जनतामा अनावश्यक भ्रम फैलाइएको टिप्पणी गरे।

एमालेको नीति तथा कार्यक्रम सही र समसामयिक रहेको दाबी गर्दै अध्यक्ष ओलीले लोकतान्त्रिक र वामपन्थी शक्तिबीच कार्यगत एकताको आवश्यकता रहेको बताए। उहाँले जनताको बहुदलीय जनवादलाई समयानुकूल परिमार्जन गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्यतर्फ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा वर्ष २०८२ को ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ लेखक रमेश रुछेन राईको कृति ‘श्वेतशार्दूल’ लाई प्रदान गरिएको थियो। पुरस्कारको राशि दुई लाख रुपैयाँ रहेको छ।

प्रकाशित मिति: १४ असार २०८३, आइतबार

प्रतिक्रिया दिनुहोस्