जाँचबुझ आयोगले माग्यो आइजिपीलाई स्पष्टीकरण
काठमाडौं, कार्तिक २० । गत भदौ २३ र २४ गतेको घटनासम्बन्धी छानबिन गर्न बनेको उच्चस्तरीय जाँचबुझ आयोगले प्रहरी महानिरीक्षक (आइजिपी) चन्द्रकुबेर खापुङसँग स्पष्टीकरण माग गरेको छ ।
आयोगले आइजिपी खापुङलाई कारबाही किन नगर्ने भनेर २४ घन्टाभित्र लिखित जबाफ दिन निर्देशन दिएको आयोगका प्रवक्ता एवं सदस्य विज्ञानराज शर्माले जानकारी दिए ।
आयोग गठन भएपछि भदौ २३ र २४ गते घटनाका बेला फिल्डमा खटिएका प्रहरी अधिकारीहरुको विवरण मागेपनि प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरिएको थियो । तर, हालसम्म उपलब्ध गराएको थिएन ।
आयोगले पुनः पत्र पठाएपछि आएको जबाफमा आइजिपीदेखि जवानसम्म खटिएको सामान्य उल्लेख मात्र गरिएको थियो ।
प्रहरीले विवरण नपठाएपछि आयोगले आइतबार आइजिपी खापुङकै नाममा २४ घन्टाभित्र जबाफ पठाउन निर्देशन दिंदै पत्राचार गरेको थियो । त्यसपछि प्रहरी प्रधान कार्यालयले विवरण काठमाडौं उपत्यका प्रहरी कार्यालयसँग भएको र त्यहाँबाट पठाउन समय लाग्ने भन्दै जबाफ फर्काएको थियो ।
प्रधान कार्यालयले समयमै विवरण नदिँदा आयोगको कार्यगत प्रक्रिया ढिलाइ भएको भन्दै आइजिपीसँग प्रत्यक्ष स्पष्टीकरण सोधिएको प्रवक्ता शर्माले बताए ।
प्रकाशित मिति: २० कार्तिक २०८२, बिहिबार












