वामपन्थी शक्तिबीच सहकार्य अपरिहार्य : प्रचण्ड
काठमाडौँ, १४ असार । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वाधीनताको रक्षा, संवैधानिक अधिकारको संरक्षण र जनअधिकारको संवर्द्धनका लागि वामपन्थी शक्तिबीच सहकार्य अपरिहार्य रहेको बताए।
जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आयोजित ‘नेपालको कम्युनिष्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक विचार गोष्ठी तथा ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण समारोह’ मा उनले परिवर्तित राजनीतिक सन्दर्भमा समान विचार भएका कम्युनिष्ट शक्तिहरू एकताबद्ध हुनुपर्ने आवश्यकता औँल्याए।
संयोजक दाहालले संवैधानिक अधिकारको रक्षाका लागि सबै वामपन्थी राजनीतिक शक्तिबीच साझेदारी आवश्यक रहेको बताउँदै चाँडोभन्दा चाँडो समान विचार भएका दलहरू एकताबद्ध हुनुपर्ने बताए।
विगतका कमीकमजोरीको समीक्षा गर्न आफू तयार रहेको उल्लेख गर्दै उनले राष्ट्रसामु देखा परेका चुनौतीको सामना सबै नेता तथा कार्यकर्ताले मिलेर गर्नुपर्ने बताए। लोकतान्त्रिक शक्तिसँग सहकार्य गर्न आफू तत्पर रहेको र यस्तो सहकार्य शीघ्र हुनुपर्नेमा उनले जोड दिए।
कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले कम्युनिष्ट एकतालाई सुदृढ बनाउनुपर्ने आवश्यकता औँल्याउँदै युवापुस्ताको काँधमा ठूलो जिम्मेवारी आएको बताए। उनले देश र जनताको हितलाई केन्द्रमा राखेर कम्युनिष्ट आन्दोलन अघि बढ्नुपर्ने धारणा राखे।
कम्युनिष्ट पार्टीहरूले आत्ममूल्याङ्कन गर्न ढिलाइ भएको उल्लेख गर्दै नेता नेपालले ‘एकता नै बल हो’ भन्ने यथार्थलाई बिर्सन नहुने बताए।
नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले पनि कम्युनिष्ट शक्तिहरूबीच एकताको विकल्प नभएको बताउँदै एकीकरणको प्रक्रिया शीघ्र प्रारम्भ गर्नुपर्नेमा जोड दिए।
प्रकाशित मिति: १४ असार २०८३, आइतबार












