त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा सेवा पुनः सञ्चालन हुँदै



काठमाडौँ, १४ असार । त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले स्वास्थ्य बिमा कार्यक्रम पुनः सञ्चालन गर्ने भएको छ।

गत माघ १ गतेदेखि स्थगित गरिएको स्वास्थ्य बिमा सेवा आइतबारदेखि पुनः सञ्चालन गर्न लागिएको अस्पतालले जनाएको छ।

अस्पतालका कार्यकारी निर्देशक डा. सुभासप्रसाद आचार्यले प्रारम्भिक चरणमा बहिरङ्ग सेवा (ओपिडी)बाट बिमा सेवा सञ्चालन गरिने र केही दिनपछि अन्य सेवामा पनि विस्तार गरिने बताए।

उनका अनुसार बिमा सेवाका लागि बिहानदेखि ११ बजेसम्म तथा दिउँसो १ बजेदेखि २ः३० बजेसम्म बिरामीलाई बिमा टिकट उपलब्ध गराइनेछ।

स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत उपलब्ध गराइएको उपचार सेवाको भुक्तानी नपाएपछि अस्पतालले गत माघ १ गतेदेखि बिमा सेवा स्थगित गरेको थियो।

केही दिनअघि मात्र स्वास्थ्य बिमा बोर्डले अस्पताललाई बिमाअन्तर्गत उपचार गरेबापतको बक्यौता भुक्तानी उपलब्ध गराएपछि सेवा पुनः सञ्चालन गर्न लागिएको हो।

अस्पतालले विसं २०७७ देखि स्वास्थ्य बिमा कार्यक्रममार्फत नियमित रूपमा उपचार सेवा प्रदान गर्दै आएको छ।

प्रकाशित मिति: १४ असार २०८३, आइतबार

प्रतिक्रिया दिनुहोस्