भेनेजुएला भूकम्प : मृतक १,४३० पुगे, तीन दिनपछि ११ वर्षीय बालकको सकुशल उद्धार



भेनेजुएला, १४ असार । भेनेजुएलामा शक्तिशाली भूकम्प गएको तीन दिनभन्दा बढी समय बितिसक्दा पनि उद्धारकर्मीले भग्नावशेषमा पुरिएका बाँचेकाको खोजीलाई तीव्रता दिएका छन्। आइतबार बिहानसम्म प्राप्त विवरणअनुसार भूकम्पमा मृत्यु हुनेको सङ्ख्या एक हजार ४३० पुगेको छ।

शनिबार राति भग्नावशेषबाट ११ वर्षीय एक बालकलाई सकुशल उद्धार गरिएको छ। समय बित्दै जाँदा भग्नावशेषमा पुरिएका व्यक्तिलाई जीवित अवस्थामा भेट्ने सम्भावना भने क्षीण हुँदै गएको उद्धारकर्मीले बताएका छन्।

भूकम्पका कारण हजारौँ मानिस अझै बेपत्ता छन् भने ठूलो सङ्ख्यामा घाइते भएका छन्। पहिलेदेखि नै आर्थिक सङ्कट र राजनीतिक अस्थिरताबाट गुज्रिरहेको भेनेजुएलामा भूकम्पले थप मानवीय सङ्कट सिर्जना गरेको छ।

लाखौँ मानिस सरसफाइ तथा अन्य आधारभूत आवश्यक सेवाबाट वञ्चित हुने जोखिममा रहेको जनाइएको छ। प्राकृतिक विपत्तिपछि पहिलो ७२ घण्टा बाँचेकाको उद्धारका लागि सबैभन्दा महत्वपूर्ण समय हुने र त्यसपछि खोजी कार्य मुख्यतः शव निकाल्न केन्द्रित हुने विशेषज्ञहरूको भनाइ छ।

नाम सार्वजनिक गर्न नचाहने एक साल्भाडोरका उद्धारकर्मीले अब बेपत्ता व्यक्तिलाई जीवित भेट्ने सम्भावना निकै कम रहेको बताए। उनले भगवान्को कृपाले केही व्यक्ति जीवित फेला परे त्यो ठूलो चमत्कार हुने उल्लेख गरे।

देशको उत्तरी भागस्थित काराबालेडा सहरमा शनिबार साँझ ११ वर्षीय बालकलाई भग्नावशेषबाट जीवितै उद्धार गरिएको अन्तरिम नेतृ डेल्सी रोड्रिगेजले बताइन्। उनले सामाजिक सञ्जाल एक्समार्फत उद्धारको भिडियो सार्वजनिक गर्दै ‘भेनेजुएलाका लागि हरेक जीवन आशाको स्रोत हो’ भन्ने प्रतिक्रिया दिइन्।

स्थानीय अधिकारीको उद्धार तथा राहत कार्यप्रति सार्वजनिक असन्तुष्टि बढिरहेका बेला रोड्रिगेजले सहयोगका लागि विभिन्न देशलाई धन्यवाद दिइन्।

संयुक्त राज्य अमेरिकाले सिमोन बोलिभार अन्तर्राष्ट्रिय विमानस्थलको एउटा रनवे आंशिक रूपमा सञ्चालनमा रहेको र त्यहाँ अमेरिकी सी–१७ सैन्य विमान अवतरण गर्न सक्ने जनाएको छ। साथै राहत सामग्री बोकेको अमेरिकी नौसेनाको एउटा जहाज पनि तटीय क्षेत्रमा पुगिसकेको छ।

बुधबार आएका दुई शक्तिशाली भूकम्पले भत्काएका भवनका भग्नावशेष हटाउन स्थानीय बासिन्दाले पर्याप्त मेसिनरी अभावमा आफ्नै हातले उद्धार कार्य गरिरहेका छन्।

मियामीबाट उद्धार कार्यमा सहभागी हुन पुगेका ४३ वर्षीय अष्ट्रेलियन अग्नि नियन्त्रक क्रेग डेमिलोनले अवस्था अत्यन्त अव्यवस्थित र चुनौतीपूर्ण रहेको बताए। उनले अझै पनि धेरै मानिसलाई जीवित उद्धार गर्न सकिने आशा व्यक्त गरे।

संयुक्त राष्ट्रसङ्घका सहायता प्रमुख टम फ्लेचरले हालसम्मको अनुमानअनुसार ५० हजारभन्दा बढी मानिस बेपत्ता रहेको बताएका छन्।

प्रकाशित मिति: १४ असार २०८३, आइतबार

प्रतिक्रिया दिनुहोस्