हेटौँडामा तोडफोड र आगजनीको आरोपमा पाँच जना पक्राउ



काठमाडौं, कार्तिक २७ । जेनजी आन्दोलनका क्रममा हेटौँडामा तोडफोड र आगजनीमा संलग्न भएको आरोपमा पाँच जना पक्राउ परेका छन् ।

बागमती प्रदेशसभा सचिवालय भवन तथा जिल्ला ट्राफिक प्रहरी कार्यालयमा तोडफोड र आगजनीमा संलग्न भएको अभियोगमा सर्लाहीको बरथवा नगरपालिका–१ निवासी २७ वर्षीय पुनम ठाकुर, २७ वर्षीय प्रमोद महतो र हेटौँडा उपमहानगरपालिका–८ का ४३ वर्षीय सागर घताने भन्ने रोमबहादुर घतानेलाई पक्राउ गरिएको मकवानपुर प्रहरीले जनाएको छ ।

यसैगरी, हेटौँडा उपमहानगरपालिका–११ नवलपुरका ४५ वर्षीय सुशील पौडेलको घरमा आगजनी गरेको आरोपमा सोही स्थानका ३६ वर्षीय सुजन अधिकारी र ३५ वर्षका सुरेन्द्र मगरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए ।

उनीहरूलाई अदालतबाट थुनामा राख्ने अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २७ कार्तिक २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्