सुनुवार राष्ट्रसेवक समाजको दोस्रो स्मारिका र ‘चिर्मा’ कविता सङ्ग्रह लोकार्पण



काठमाडौँ, १३ असार । सुनुवार राष्ट्रसेवक समाजको दोस्रो स्मारिका तथा कवयित्री तारादेवी सुनुवारद्वारा लिखित १०१ वटा फुटकर कविताको सङ्ग्रह ‘चिर्मा’ शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमबीच लोकार्पण गरिएको छ।

कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री प्रदीपकुमार सुनुवारको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा स्मारिका र कविता सङ्ग्रहको संयुक्त रूपमा विमोचन गरिएको हो।

कार्यक्रममा मन्त्री सुनुवारले सरकारी सेवामा रहेका सुनुवार समुदायका कर्मचारीहरूले इमानदारी, जिम्मेवारी र समर्पणका साथ कार्य गर्दै समाज तथा राष्ट्र निर्माणमा महत्त्वपूर्ण योगदान पुर्‍याएको बताए। उनले आगामी दिनमा पनि समुदायको प्रतिष्ठा अझ उँचो बनाउन निष्ठापूर्वक काम गर्ने विश्वास व्यक्त गर्दै जनसङ्ख्याका आधारमा सानो भए पनि सुनुवार समुदाय राष्ट्रिय भावना र देशसेवामा सधैँ अग्रसर रहेको उल्लेख गरे।

समाजका अध्यक्ष अमरदीप सुनुवारले राज्य तथा राष्ट्र निर्माणमा सुनुवार समुदायका राष्ट्रसेवक कर्मचारीहरूको योगदान उल्लेखनीय रहेको बताए। उनले समाजद्वारा प्रकाशित दोस्रो स्मारिकाले समुदायको इतिहास, योगदान, अनुभव र सिर्जनात्मक गतिविधिलाई दस्तावेजीकरण गर्ने उद्देश्य राखेको जानकारी दिए।

कवयित्री तारादेवी सुनुवारले आफ्नो कविता सङ्ग्रह ‘चिर्मा’ आफ्नै समाजलाई बुझ्ने, पढ्ने र अनुभूति गर्ने क्रममा सिर्जना भएका कविताहरूको सङ्ग्रह भएको बताइन्। समाज अध्ययनका क्रममा भेटिएका विषयवस्तुलाई कवितामा उतारेको उल्लेख गर्दै उनले सुनुवार जातिको संस्कार, संस्कृति र ऐतिहासिकतालाई केन्द्रमा राखेर लेखिएका यी कविताले आदिवासी समुदायको मौलिक सुगन्धलाई प्रतिनिधित्व गर्ने धारणा व्यक्त गरिन्।

कृतिमाथि टिप्पणी गर्दै डा. अशोक लामा, कुमारी लामा र कवि अमरदीप सुनुवारले ‘चिर्मा’ ले सुनुवार समुदायको भाषा, संस्कार, संस्कृति तथा सामाजिक जीवनका विविध पक्षलाई कलात्मक ढङ्गले प्रस्तुत गरेको बताए। उनीहरूले कृतिमा पुरुषसत्तात्मक समाजमा विद्यमान सामाजिक तथा सांस्कृतिक विकृति, विसङ्गति र विभेदविरुद्ध सशक्त आवाज उठाइएको उल्लेख गर्दै यस्ता सिर्जनाले समुदायको पहिचान, भाषा र संस्कृतिको संरक्षणसँगै सामाजिक रूपान्तरणमा पनि महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

प्रकाशित मिति: १३ असार २०८३, शनिबार

प्रतिक्रिया दिनुहोस्