राजस्व सङ्कलन लक्ष्यको ७५ प्रतिशत, पूँजीगत खर्च ३५ प्रतिशतभन्दा कम
काठमाडौँ, १३ असार । चालु आर्थिक वर्ष समाप्त हुन १९ दिन बाँकी रहँदा सरकारले राजस्व सङ्कलनमा वार्षिक लक्ष्यको ७५ दशमलव १७ प्रतिशत प्रगति हासिल गरेको छ।
सरकारको दैनिक बजेटरी हिसाबकिताब राख्ने महालेखा नियन्त्रक कार्यालयका अनुसार शुक्रबारसम्म ११ खर्ब १२ अर्ब ४८ करोड ४६ लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ।
सरकारले चालु आर्थिक वर्षका लागि १४ खर्ब ८० अर्ब रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको छ। लक्ष्य पूरा गर्न बाँकी १९ दिनमा तीन खर्ब ६७ अर्ब ५१ करोड रुपैयाँ सङ्कलन गर्नुपर्नेछ। त्यसका लागि दैनिक औसत करिब १९ अर्ब ३४ करोड रुपैयाँ राजस्व सङ्कलन आवश्यक पर्ने देखिन्छ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार कर राजस्वतर्फ लक्ष्यको ७६ दशमलव २० प्रतिशत प्रगति भएको छ। कर राजस्वबाट १३ खर्ब २५ अर्ब ५८ करोड ३९ लाख रुपैयाँ सङ्कलन गर्ने लक्ष्य रहेकामा हालसम्म १० खर्ब १० अर्ब १६ करोड तीन लाख रुपैयाँ सङ्कलन भएको छ।
त्यस्तै, गैरकर राजस्वतर्फ एक खर्ब ५४ अर्ब ४१ करोड ६१ लाख रुपैयाँ सङ्कलन गर्ने लक्ष्य रहेकामा हालसम्म एक खर्ब दुई अर्ब ३२ करोड ४३ लाख रुपैयाँ प्राप्त भएको छ।
अनुदानतर्फ ५३ अर्ब ४४ करोड ६९ लाख रुपैयाँ प्राप्त गर्ने लक्ष्य रहेकामा हालसम्म २४ अर्ब ११ करोड १२ लाख रुपैयाँ मात्रै प्राप्त भएको छ, जुन लक्ष्यको ४५ दशमलव ११ प्रतिशत हो।
यस अवधिमा अन्य प्राप्ति शीर्षकबाट छ अर्ब ५० करोड ५३ लाख रुपैयाँ सङ्कलन भएको छ। यससँगै सरकारको कुल प्राप्ति ११ खर्ब ४३ अर्ब १० करोड ११ लाख रुपैयाँ पुगेको छ, जुन वार्षिक लक्ष्यको ७४ दशमलव ५४ प्रतिशत हो।
उता, कुल सरकारी खर्च १४ खर्ब चार अर्ब ९८ करोड ८६ लाख रुपैयाँ पुगेको छ, जुन वार्षिक लक्ष्यको ७१ दशमलव ५३ प्रतिशत हो। शुक्रबार मात्रै पाँच अर्ब ३६ करोड ८२ लाख रुपैयाँ खर्च भएको छ।
खर्चको प्रकृतिअनुसार चालु खर्चतर्फ लक्ष्यको ८० दशमलव ४२ प्रतिशत खर्च भएको छ। चालु खर्चका लागि विनियोजित ११ खर्ब ८० अर्ब ९८ करोड रुपैयाँमध्ये हालसम्म नौ खर्ब ४९ अर्ब ७५ करोड ९५ लाख रुपैयाँ खर्च भइसकेको छ।
विकास निर्माणसँग सम्बन्धित पूँजीगत खर्च भने एक खर्ब ४२ अर्ब २३ करोड ६८ लाख रुपैयाँ पुगेको छ, जुन लक्ष्यको ३४ दशमलव ८७ प्रतिशत मात्रै हो। चालु आर्थिक वर्षका लागि चार खर्ब सात अर्ब ८८ करोड ८० लाख रुपैयाँ पूँजीगत खर्च गर्ने लक्ष्य तय गरिएको थियो।
त्यसैगरी, वित्तीय व्यवस्थापनतर्फको खर्च लक्ष्यको ८३ दशमलव ४१ प्रतिशत पुगेको छ। वित्तीय व्यवस्थापन शीर्षकअन्तर्गत विभिन्न ऋणको साँवा तथा ब्याज भुक्तानी गरिन्छ। यस शीर्षकमा तीन खर्ब ७५ अर्ब २४ करोड २० लाख रुपैयाँ खर्च गर्ने लक्ष्य रहेकामा हालसम्म तीन खर्ब १२ अर्ब ९९ करोड २३ लाख रुपैयाँ खर्च भएको महालेखा नियन्त्रक कार्यालयको विवरणमा उल्लेख छ।
प्रकाशित मिति: १३ असार २०८३, शनिबार












