अस्ट्रेलियामा सवारी दुर्घटनामा एकै परिवारका तीन नेपालीको मृत्यु, एक घाइते
काठमाडौँ, कार्तिक २७ । अस्ट्रेलियाको भिक्टोरिया राज्यस्थित ग्रामीण क्षेत्र स्टोनली मा सवारी दुर्घटना हुँदा एकै परिवारका तीन जना नेपालीको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
मृत्यु हुनेमा ४१ वर्षीय पुरुष, उनकी ३१ वर्षीया श्रीमती र तीन वर्षीय छोरा रहेका छन् । उनीहरू सवार कारलाई मालबाहक ट्रकले ठक्कर दिँदा घटनास्थलमै तिनै जनाको मृत्यु भएको हो । दुर्घटनामा ती दम्पतीकी आमा (हजुरआमा) गम्भीर घाइते भएकी छन् । उनलाई हेलिकोप्टरमार्फत उद्धार गरी नजिकैको अस्पतालमा भर्ना गरिएको भिक्टोरिया प्रहरीले जनाएको छ । उनको अवस्था खतरामुक्त भएको बताइएको छ ।
दुर्घटना सब–वेबाट मुख्य सडकमा निस्कँदै गर्दा मालबाहक ट्रकले कारलाई ठक्कर दिँदा भएको बताइएको छ । ट्रक चालक भने सामान्य रूपमा घाइते भएका छन् । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको भिक्टोरिया प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: २७ कार्तिक २०८२, बिहिबार












