गोली प्रहार गरी पुजारीको हत्या, ७५ वर्षीय वृद्ध पक्राउ
हेटौँडा, कार्तिक २९ । मकवानपुरको राक्सिराङ गाउँपालिका–१ कोलगैरीमा गोली हानी एक जनाको हत्या भएको छ ।
शुक्रबार बिहान स्थानीय ६४ वर्षीय ठूले गोलेको गोली हानी हत्या भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
ठकुरीडाँडास्थित कुलदेवी मन्दिरका पुजारीसमेत रहेका गोलेको गोली लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रवक्ता राजुप्रसाद कुर्मीले जानकारी दिए । उनका अनुसार गोलेको हत्या आरोपमा स्थानीय ७५ वर्षीय इमानसिंह थोकरलाई पक्राउ गरिएको छ ।
प्रहरी टोलीले उनलाई घटनास्थलभन्दा एक किलोमिटर कोलगौरीमा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको हो ।
पक्राउ परेका थोकरको साथबाट कटुवा पेस्तोल एक थान, पेस्तोलमा लाग्ने दुई राउण्ड गोली, खोका एक थान र एक सय ९० ग्राम गनपाउडर बरामद भएको प्रहरीले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानका क्रममा पुरानो रिसिइबीका कारण थोकरले गोलेको गोली हानी हत्या गरेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: २९ कार्तिक २०८२, शनिबार












