खुलेको दुई दिन नपुग्दै ‘शान्ताको अचार’को वीरेन्द्रनगर शाखामा आगलागी



सुर्खेत, कार्तिक ३० । नेकपा (एमाले) नेतृ तथा पूर्वसांसद शान्ता चौधरीको वीरेन्द्रनगरस्थित ‘शान्ताको अचार’ उद्योगमा आगलागी भएको छ ।

भर्खरै उद्घाटन गरिएको शाखामा आगलागी आइतबार बिहान ३ बजे आगलागी भएको हो । शाखाको शुक्रबार मात्रै भव्य उद्घाटन भएको थियो ।

आगलागीको घटनालाई नेतृ चौधरीले ‘शङ्कास्पद’ भन्दै तत्काल अपराधी पत्ता लगाई कारबाही गर्न प्रहरी प्रशासनसँग माग गरेकी छिन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतले भने विद्युत् सट भएर आगलागी भएको बताएको छ ।

प्रहरीका अनुसार, बिहान करिब ३ बजेतिर नगरपालिकाको दमकल गणेशचोकतिर पानी भर्न जाँदै गर्दा दमकलका चालकले बजारमा धुवाँको मुस्लो देखेका थिए । चालकले नै प्रहरीलाई खबर गरी दमकलसहित घटनास्थल पुगेर आगो नियन्त्रणमा लिएका थिए ।

प्रारम्भिक अनुसन्धानबाट आगो पसलसँगै रहेको फेन्सी स्टोरबाट सुरु भई अचार पसलमा फैलिएको देखिन्छ । आगजनीबाट चौधरीको करिब १५ लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ ।

प्रकाशित मिति: ३० कार्तिक २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्