प्रतिनिधिसभा निर्वाचन तालिका सार्वजनिक, ६ माघमा उम्मेदवारी दर्ता



काठमाडौं, मंसिर १ । निर्वाचन आयोगले प्रतिनिधिसभा तथा राष्ट्रिय सभाको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।

आयोगले २१ फागुनको प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता ६ माघलाई तोकेको छ भने दाबी विरोध गर्ने समय ७ माघ दिउँसो ३ बजेसम्मलाई निर्धारण गरिएको छ ।

त्यस्तै ८ माघ ५ बजेसम्ममा दाबीउपर छानबिन गरी ७ बजेसम्ममा उम्मेदवारको नामावली प्रकाशन गरिने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए ।

आइतबार आयोगको बैठकले तय गरेको कार्यतालिकाअनुसार ९ माघ दिउँसो ३ बजेसम्मको समय उम्मेदवार फिर्ताको समय छ भने सोही दिन साँझ ७ बजेसम्ममा अन्तिम नामावली प्रकाशन गरी चुनाव चिह्न दिइने आयोगले जनाएको छ । सार्वजनिक गरिएको निर्वाचन कार्यक्रमअनुसार प्रतिनिधिसभा निर्वाचन २१ फागुन बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुनेछ ।

प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको निर्वाचन कार्यक्रम २० मंसिरबाट सुरु हुने भएको छ । २१ देखि २३ मंसिरसम्म समानुपातिक प्रणालीतर्फ भाग लिन चाहने दललाई निवेदन दिन समय छुट्याइएको आयोगले जनाएको छ ।

२४ मंसिरमा दलको नामावली प्रकाशन गरिने, १३ र २४ पुसमा दलहरूले उम्मेदवारको बन्दसूची पेस गर्ने र २० माघमा उम्मेदवारको बन्दसूची अन्तिम रूपमा प्रकाशन गर्ने कार्यक्रम रहेको आयोगका प्रवक्ता भट्टराईले जानकारी दिए ।

यसैबीच, आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि पनि कार्यतालिका प्रकाशित गरेको छ । ११ माघमा हुने निर्वाचनका लागि १९ पुसमा मतदाता नामावली प्रकाशन हुनेछ भने २२ पुसमा अन्तिम नामावली प्रकाशन हुनेछ ।

२३ पुसमा उम्मेदवारको मनोनयनपत्र दर्ता, २४ पुसमा उम्मेदवारको विरोधमा दाबी पेस गर्ने, २७ पुसमा नाम फिर्ता लिने तथा अन्तिम नामावली सार्वजनिक गर्ने कार्यक्रम छ ।

११ माघ ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुने निर्वाचनका लागि आयोगले २८ पुसमा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम छ ।

आयोगका अनुसार हालसम्म आयोगमा १ सय २२ दल दर्ता भएको र २८ वटा दल दर्ताको प्रक्रियामा रहेका छन् ।

प्रकाशित मिति: १ मंसिर २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्