एकैसाथ तोडियो सडक निर्माणका २५ ठेक्का (सूचीसहित)



काठमाडौं, मंसिर १ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ठेक्का सम्झौता गरी काम नगरेर वर्षोंदेखि अलपत्र पारिएका सडक निर्माणका ठेक्का एकैसाथ तोडेको छ ।

सडक डिभिजन कार्यालय काठमाडौंले सोमबार २५ रुग्ण ठेक्का तोड्ने सूचना जारी गरेको हो । ठेक्का तोडिएका आयोजना आर्थिक वर्ष २०६७÷६८ देखि २०७९÷८०मा सम्झौता भएका छन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का लिने तर काम नगर्ने र आयोजना अलपत्र पार्ने प्रवृत्ति अन्त्यका लागि रुग्ण ठेक्का तोड्न मातहतका निकायलाई निर्देशन दिएका थिए ।

सडक डिभिजन कार्यालय काठमाडौंबाट गत ११ कात्तिकमा स्पष्टीकरण सोधिएकोमा चित्तबुझ्दो नभएकाले सार्वजनिक खरिद कानूनमा भएको व्यवस्था बमोजिम ठेक्का रद्ध गरिएको कार्यालयका प्रमुख सुवोध देवकोटाले जानकारी दिए ।

उनका अनुसार कानूनमा भएको व्यवस्था बमोजिम ठेक्का सम्झौता अन्त्य गरी कालोसूचीमा राख्ने तथा कार्यसम्पादन जमानत, धरौटी बापतको रकम, पेश्की जमानत जफत र पेश्की रकमको १० प्रतिशत ब्याज असुल गर्नुको साथै बाँकी काम गर्न लाग्ने खर्च सरकारी बाँकी सरह असुलउपर गर्नेतर्फ कारबाही अगाडि बढाइने छ ।

प्रकाशित मिति: १ मंसिर २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्