रुस–युक्रेन युद्धमा एक सय बढी नेपालीको मृत्यु, त्यति नै सम्पर्कबिहीन



काठमाडौं, मंसिर २ । रुस–युक्रेन युद्धमा हालसम्म एक सय चार जना नेपालीको मृत्यु भएको औपचारिक जानकारी प्राप्त भएको छ ।

सन् २०२२ फेब्रुअरी २४ बाट सुरु भएको रुस–युक्रेन युद्धमा एक सय चार जना नेपालीको मृत्यु भएको औपचारिक जानकारी रुसले नेपाल सरकारलाई दिएको हो ।

परराष्ट्र मन्त्रालय कन्सुलर सेवा विभागकी महानिर्देशक द्रुपदा सापकोटाले हालसम्म ४० जना नेपाली अझै हराइरहेको भन्ने जानकारी आएको समेत बताइन् ।

उनका अनुसार रुसी सेनामा भर्ती भएका आफन्तलाई फिर्ता गरिदिन भन्दै ३५० परिवारले विभागमा निवेदन दिएका छन् । ती निवेदनअनुसार एक सय नेपाली लामो समयदेखि सम्पर्कविहीन छन् ।

“आवेदनअनुसार १०० जना हराइरहेका छन्, तर यसको आधिकारिक पुष्टि भएको छैन । रुसले भने ४० जना हराइरहेका छन् भन्ने जानकारी दिएको छ,” सापकोटाले भनिन् ।

युद्धमा मारिएका नेपालीको पहिचान गर्न रुसले परिवारको डीएनए रिपोर्ट माग गर्दै आएको छ । हाल ४५ जनाको शव पहिचानका लागि नेपालले डीएनए पठाइसकेको र नतिजा आइसकेको छैन । यी सबै नेपाली भएको पुष्टि भए युद्धमा मारिने नेपालीको संख्या डेढ सय नाघ्ने देखिन्छ ।

युद्धका क्रममा ११ जना नेपाली युक्रेनका युद्धबन्दी बनेका छन् । रुसी सेनामा भर्ती भएकामध्ये दुई सय २१ जना नेपाल फर्किएका छन् । तीमध्ये १६ जना पुनः रुस फर्किएर फेरि सेनामा भर्ती भएका छन् ।

रुसले सन् २०२२ फेब्रुअरी २४ मा युक्रेनमाथि आक्रमण सुरु गरेको थियो । त्यसयता युद्ध निरन्तर छ ।

प्रकाशित मिति: २ मंसिर २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्