अमेरिकी सेनाको उच्चस्तरीय टोली काठमाडौंमा, आजदेखि ‘ल्याण्डफोर्स टक’
काठमाडौं । नेपाली सेना र अमेरिकी सेनाबीच बुधबारदेखि काठमाण्डौंमा छैटौं संस्करणको ‘ल्याण्ड फोर्स टक’ हुँदैछ ।
अमेरिकी सेनाका ल्याफ्टिनेन्ट जनरल स्कट एलेक्जान्डर विटरको नेतृत्वमा तीन सदस्यीय उच्चस्तरीय टोली मंगलबार साँझ काठमाण्डौं आइपुगेका हुन् ।
नेपालमा सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएपछि पहिलोपटक अमेरिकी सेनासँग प्रत्यक्ष द्विपक्षीय सैन्य संवाद हुन लागेको हो । ल्यान्डफोर्स टक शुक्रबारसम्म चल्ने छ ।
नेपाली सेनाका प्रवक्ता सहायकरथी राजाराम बस्नेतका अनुसार ल्यान्डफोर्स टकमा मुख्यतः दुवै देशका सेनाबीच अनुभव आदान–प्रदान, मानवीय सहयोग तथा विपद् व्यवस्थापनसम्बन्धी विषयमा विस्तृत छलफल हुनेछ ।
२०७५ सालदेखि नेपाल–अमेरिका सेनाबीच सुरु भएको ल्याण्ड फोर्स टक तत्कालीन प्रधानसेनापति पूर्णचन्द्र थापाका पालामा आरम्भ भएको हो ।
प्रकाशित मिति: ३ मंसिर २०८२, बुधबार












