‘एसिया–प्यासिफिक जेरियाट्रिक्स’ सम्मेलन सुरु



काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा सुधा शर्माले आज यहाँ ‘एसिया–प्यासिफिक जेरियाट्रिक्स नेटवर्क (एपिजिएन)’ सम्मेलनको उद्घाटन गर्दै हरेक परिवारले ज्येष्ठ नागरिकहरूलाई सक्रिय जीवन यापनमा सघाउनुपर्नेमा जोड दिनुभएको छ । 

साथै उहाँले देशका नीतिहरू ज्येष्ठ नागरिकमैत्री भए पनि स्रोतसाधन अभावले जति गर्नुपर्ने हो त्यति गर्न नसकिएको स्वीकार गर्नुभयो । 

“ज्येष्ठ नागरिक रोग विशेषज्ञहरूको पदहरू सिर्जना गर्न आवश्यक छ ।  नर्सहरूको पनि थप दरबन्दी सिर्जना गर्नुपर्छ । आर्थिक रूपमा कमजोर राष्ट्र भएर पनि हामीले ज्येष्ठ नागरिकका लागि सकेसम्म उत्तम सेवा दिन प्रयास गरिरहेका छौँ,” उहाँले भन्नुभयो ।

देशमा ३० लाख हाराहारी ज्येष्ठ नागरिकहरूको जनसङ्ख्या  छ । ज्येष्ठ नागरिक रोग विशेषज्ञ डा रमेश कँडेलले जनसङ्ख्याको अनुपातमा विशेषज्ञहरू पर्याप्त नरहेका बताउनुभयो । उहाँले भन्नुभयो, “हाल नेपालमा १० जना दर्ता गरिएका ज्येष्ठ नागरिक रोग विशेषज्ञहरू छन् जसमा ६ जना मात्र स्वदेशमा छन् ।”

जेरियाट्रिक सोसाइटी अफ नेपालका अध्यक्ष डा उमेश बोगटीले ज्येष्ठ नागरिकहरूको स्वास्थ्यलाई सधैँ सबल राख्न क्षेत्रीय साझेदारी अत्यावश्यक भएको बताउनुभयो । 

सम्मेलनमा नेपालसहित २० भन्दा बढी देशका विभिन्न रोगका विशेषज्ञ चिकित्सक, ज्येष्ठ नागरिकविज्ञ, अनुसन्धानकर्ता तथा विभिन्न विश्वविद्यालयका प्राध्यापक सहभागी छन् । 

प्रकाशित मिति: २० मंसिर २०८२, शनिबार

प्रतिक्रिया दिनुहोस्