चिया उद्योग आजदेखि सञ्चालनमा, बन्दका कार्यक्रम स्थगित
काठमाडौँ, ११ असार । नेपाल चिया उत्पादक सङ्घले बन्द रहेका चिया उद्योग आजदेखि पुनःसञ्चालन गर्ने तथा आन्दोलनका कार्यक्रम स्थगन गर्ने निर्णय गरेको छ ।
भारततर्फ चिया निर्यातमा देखिएको समस्याका कारण बन्द गरिएका झापा र इलामका चिया उद्योग पुनःसञ्चालनमा ल्याइने भएका हुन् ।
सङ्घले बुधबार जारी गरेको विज्ञप्तिमा सरकारबाट चिया क्षेत्रका समस्याको समाधानका लागि सकारात्मक पहल र आश्वासन प्राप्त भएपछि उद्योग सञ्चालन गर्ने निर्णय गरिएको जनाएको छ ।
विज्ञप्तिमा चिया निर्यातमा देखिएका व्यापारिक तथा प्राविधिक समस्या समाधान, किसानका समस्या पहिचान तथा नेपाली चियाको अन्तर्राष्ट्रिय बजार प्रवर्द्धनका लागि सरकारले विशेष कार्यदल गठन गरेको उल्लेख गर्दै उक्त कदमलाई सकारात्मक रूपमा लिइएको बताइएको छ ।
सङ्घले सरकारको पहललाई सम्मान गर्दै चिया क्षेत्रलाई पुनःसञ्चालन गर्ने निर्णय गरिएको जनाएको छ ।
भारतीय चिया बोर्डले लागू गरेको नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिड्युर’ (एसओपी) का कारण नेपाली चिया निर्यातमा अवरोध उत्पन्न भएपछि उद्योगीहरूले केही दिनदेखि उद्योग बन्द गरेका थिए ।
सरकारले असार ८ गते चिया निर्यातमा देखिएका समस्या अध्ययन गरी समाधानका उपाय सुझाउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत सहसचिवको संयोजकत्वमा विशेष कार्यदल गठन गरेको थियो ।
सङ्घले कार्यदल गठन तथा सरकारको पहललाई सकारात्मक रूपमा लिँदै किसान, मजदुर र उद्योगको हितलाई ध्यानमा राखेर उद्योग सञ्चालनमा ल्याउने निर्णय गरिएको जनाएको छ ।
प्रकाशित मिति: ११ असार २०८३, बिहिबार












