निको कप महिला टी–२० : भोलि सेमिफाइनल खेल हुँदै
जनकपुरधाम, ११ असार। जनकपुरधाममा जारी निको कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत भोलि सेमिफाइनल खेलहरू हुने भएका छन्।
मधेश प्रदेशको खेलकुद तथा समाज कल्याण मन्त्रालय, मधेश खेलकुद परिषद् तथा नेपाल खेलकुद महासङ्घको संयुक्त आयोजनामा निर्माणाधीन रामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रङ्गशालामा दुई सेमिफाइनल खेल आयोजना गरिनेछन्।
प्रतियोगिताको पहिलो सेमिफाइनलमा बिहान ९ बजे नेपाल एपीएफ क्लब र लुम्बिनी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ।
त्यसपछि दोस्रो सेमिफाइनलमा कोशी प्रदेश र बागमती प्रदेश आमनेसामने हुनेछन्।
दुवै सेमिफाइनलमा विजयी हुने टोलीबीच असार १३ गते शनिबार फाइनल खेल हुनेछ।
प्रतियोगितामा सात प्रदेश र एक विभागीय टोली गरी कुल आठ टोलीको सहभागिता रहेको छ। समूह चरणका खेलपछि एपीएफ क्लब, लुम्बिनी प्रदेश, कोशी प्रदेश र बागमती प्रदेश सेमिफाइनलमा प्रवेश गरेका हुन्।
सेमिफाइनलबाट विजयी हुने दुई टोलीले उपाधिका लागि फाइनलमा प्रतिस्पर्धा गर्नेछन्।
प्रकाशित मिति: ११ असार २०८३, बिहिबार












