२६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध



काठमाडौँ, १ असार किसान सूचीकरण प्रणालीमा हालसम्म देशभरका २६ लाख किसान आबद्ध भएका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत कृषि सूचना केन्द्रले किसानको जग्गा विवरण र कृषि उत्पादनका आधारमा सूचीकरण कार्य अघि बढाएको हो ।

कृषि सूचना केन्द्रका अधिकृत सञ्जीव पण्डितले विद्युतीय प्रणालीमार्फत किसानलाई सूचीकृत गरी चार तहमा वर्गीकरण गर्ने कार्य भइरहेको जानकारी दिएका छन् । मन्त्रालयले किसानलाई निर्वाहमुखी, साना, मझौला र ठूला किसान गरी चार वर्गमा विभाजन गर्ने योजना बनाएको छ ।

उहाँका अनुसार वर्गीकरण सम्पन्न भएपछि किसानलाई परिचयपत्र वितरण गरिनेछ । परिचयपत्रका आधारमा किसानले रासायनिक मल, बीउबिजन, अनुदान तथा अन्य कृषि सेवामा प्राथमिकता र सहुलियत प्राप्त गर्ने व्यवस्था गरिनेछ ।

कृषि जनगणना २०७८ अनुसार देशभर ४१ लाख ३० हजार किसान रहेको तथ्याङ्क छ । हालसम्म २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध भइसकेकाले बाँकी १५ लाखभन्दा बढी किसानलाई पनि सूचीकृत गर्ने कार्य जारी रहेको केन्द्रले जनाएको छ ।

सूचीकरण कार्यक्रमलाई व्यवस्थित बनाउन स्थानीय तहसँग समन्वय गरी किसानको प्रमाणीकरण तथा तथ्याङ्क सङ्कलन गरिएको छ । केन्द्रले अझै सूचीकरणमा समावेश नभएका किसानलाई आफ्नो नाम दर्ता गराउन आग्रह गरेको छ ।

प्रकाशित मिति: ११ असार २०८३, बिहिबार

प्रतिक्रिया दिनुहोस्