१३ वर्षीया बालिका बलात्कारपछि हत्या आरोपमा एक जना पक्राउ



विराटनगर, मंसिर २१ । मोरङको लेटाङ नगरपालिका–२, फडानीकी १३ वर्षीया अंशु गौतमको बलात्कारपछि हत्या गरेको आरोपमा घटनाको दुई महिनापछि एक जना पक्राउ परेका छन् ।

प्रहरीले फरार रहेका घटनाका आरोपी पदम अधिकारीलाई दुई महिनापछि पक्राउ गरेको हो । स्थानीयमा ‘विचारी’ भनेर चिनिने अधिकारीले बलात्कारपछि हँसिया र खुकुरी प्रहार गरेर हत्या गरेको प्रहरी समक्ष स्वीकार गरेका छन् ।

घटना भएको केहीबेरमै अधिकारी भागेर भारतको आसाम, तीनसुकिया पुगेका थिए । परिवारसँगको फोन सम्पर्कपछि गत शुक्रबार घर फर्किएको र त्यही मौकामा प्रहरीले पक्राउ गरेको हो ।

अंशुका बुबा नवीन गौतमले अधिकारीविरुद्ध किटानी जाहेरी दर्ता गराएका थिए । पक्राउ परेका अधिकारीलाई जिल्ला प्रहरी कार्यालय मोरङले आइतबार बिहान साढे १० बजे सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।

पिङ खेल्न भनी असोज २१ मा घरबाट निस्किएकी अंशुको शव हराएको १८ दिनपछि कात्तिक ७ मा चिसाङ जंगलमा फेला परेको थियो ।

प्रकाशित मिति: २१ मंसिर २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्