भेनेजुएलामा शक्तिशाली भूकम्प : १६४ जनाको मृत्यु, उद्धार कार्य जारी
भेनेजुएला, ११ असार । भेनेजुएलामा बुधबार साँझ गएको दुई शक्तिशाली भूकम्पमा परी कम्तीमा १६४ जनाको मृत्यु भएको छ भने ९७० भन्दा बढी घाइते भएका छन्। राजधानी काराकाससहित विभिन्न क्षेत्रमा ठूलो भौतिक क्षति पुगेको सरकारी अधिकारीहरूले बताएका छन्।
अमेरिकी भौगर्भिक सर्वेक्षण (यूएसजीएस) का अनुसार बुधबार साँझ क्रमशः ७.२ र ७.५ म्याग्निच्युडका भूकम्प गएका थिए। भूगर्भविद्हरूले यसलाई सन् १९०० यताकै भेनेजुएलाको सबैभन्दा शक्तिशाली भूकम्पमध्ये एक बताएका छन्।
अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजले मृतक सङ्ख्या बढ्न सक्ने चेतावनी दिँदै खोज तथा उद्धार कार्य तीव्र रूपमा जारी रहेको जानकारी दिएका छन्। राजधानी काराकासको उत्तरमा रहेको ला गुएरा राज्य सबैभन्दा बढी प्रभावित भएको छ।
भूकम्पपछि धेरै आवासीय भवनहरू भत्किएका छन् भने विद्युत् आपूर्ति अवरुद्ध भएको छ। प्रभावित क्षेत्रमा हजारौँ नागरिक खुला स्थानमा बस्न बाध्य भएका छन्। लगातार पराकम्प गइरहेकाले उद्धार कार्यमा समेत कठिनाइ भइरहेको अधिकारीहरूले बताएका छन्।
उपकरण र जनशक्तिको अभावका कारण उद्धार अभियान प्रभावित भएको जनाइएको छ। स्थानीय बासिन्दा आफन्तको खोजीमा भग्नावशेष खोतलिरहेका छन्।
फ्रान्स, स्पेन, अमेरिका, चीन, भारत र ब्राजिललगायत देशहरूले उद्धार तथा मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेका छन्। फ्रान्सले ८५ जना उद्धारकर्मी पठाउने जनाएको छ भने स्पेनले ५४ सदस्यीय उद्धार टोली परिचालन गर्ने भएको छ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले खोज तथा उद्धार टोली, चिकित्सा सामग्री तथा मानवीय सहायता तत्काल भेनेजुएला पठाउने तयारी गरिएको बताएका छन्।
भूकम्पका कारण काराकास नजिकैको माइक्वेटिया अन्तर्राष्ट्रिय विमानस्थलमा गम्भीर क्षति पुगेपछि सञ्चालन बन्द गरिएको छ। सुरक्षाका लागि प्रभावित क्षेत्रमा ग्यास आपूर्ति पनि रोकिएको गृहमन्त्री डियोस्डाडो काबेल्लोले बताएका छन्।
भूकम्पको प्रभाव छिमेकी कोलम्बियासम्म महसुस गरिएको थियो। कोलम्बियाको राजधानी बोगोटामा समेत सतर्कताका लागि मानिसहरू भवनबाट बाहिर निस्किएका थिए।
भूकम्पले काराकास, ला गुएरा, ट्रुजिलो, काराबोबो र मिरान्डा राज्यमा व्यापक क्षति पुर्याएको जनाइएको छ।
प्रकाशित मिति: ११ असार २०८३, बिहिबार












