समानुपातिक तर्फका उम्मेदवारको बन्द सूची टुङ्गो लगाउने जिम्मा अध्यक्ष ओलीलाई



काठमाडौँ ।  नेकपा (एमाले)को सचिवालय बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि समानुपातिक तर्फका उम्मेदवारहरूको बन्द सूचीमा समावेश गरिने उम्मेदवारहरूको नामावली टुङ्गो लगाउने जिम्मा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज बसेको सचिवालय बैठकले समानुपातिक तर्फका उम्मेदवारहरूको बन्द सूचीमा समावेश गरिने उम्मेदवारहरूको टुङ्गो लगाउने जिम्मा पार्टी अध्यक्ष ओलीलाई दिइएको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्नुहुँदै पार्टी उपमहासचिव लेखराज भट्टले जानकारी दिनुभयो । 

अध्यक्ष ओलीले नामावली टुङ्गो लगाउनुभएपछि भोलि नै उक्त नामावली निर्वाचन आयोगमा बुझाउने निर्णय सचिवालय बैठकले गरेको उहाँले बताउनुभयो ।

बैठकमा विभिन्न जिल्ला, प्रदेशबाट सिफारिस भएको समानुपातिक नामावली सुझावसहित पारित भएको उहाँले जानकारी दिनुभयो। 

आयोगको कार्यतालिका अनुसार आज र भोलि सोमबार समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची आयोगमा पेस गर्ने कार्यतालिका रहेको छ ।

प्रकाशित मिति: १३ पुस २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्