पक्राउअघि निष्पक्ष अनुसन्धान हुनुपर्ने एमाले नेता ज्ञवालीको भनाइ



काठमाडौँ, ८ असार नेकपा (एमाले)का नेता प्रदीप ज्ञवालीले राज्यका निकायहरूले अनुसन्धान र न्याय सम्पादनका क्रममा स्थापित कानुनी प्रक्रियाको पालना गर्नुपर्ने बताएका छन् ।

एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेपछि प्रतिक्रिया दिँदै ज्ञवालीले निष्पक्ष र गहिरो अनुसन्धान सम्पन्न गरी आवश्यक आधार जुटाएपछि मात्र पक्राउको प्रक्रिया अघि बढाउनुपर्ने धारणा व्यक्त गरेका छन् ।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया सार्वजनिक गर्दै उनले संवैधानिक र कानुनी अधिकारप्राप्त निकायले गर्ने अनुसन्धानमा सहयोग गर्ने, आफूमाथि उठेका प्रश्नको कानुनी रूपमा सामना गर्ने तथा अदालतको निर्णय स्वीकार गर्ने एमालेको स्थापित मान्यता रहेको बताएका छन् ।

ज्ञवालीले अनुसन्धान र न्याय निरूपणको स्थापित विधिअनुसार पहिले निष्पक्ष अनुसन्धान, त्यसपछि अभियोजन र अदालतको प्रक्रियाबाट अघि बढ्नुपर्ने उल्लेख गरेका छन् । आवश्यक अवस्थामा मात्र नियन्त्रणमा लिने अभ्यास हुनुपर्ने भए पनि व्यवहारमा पहिले पक्राउ गर्ने र त्यसपछि अनुसन्धान सुरु गर्ने प्रवृत्ति देखिएको उनको भनाइ छ ।

उनले राज्यका निकायका निर्णयहरू पूर्वाग्रह, प्रतिशोध वा राजनीतिक आग्रहबाट प्रभावित हुन नहुनेमा जोड दिएका छन् ।

“राज्यका संवैधानिक र कानुनी अख्तियारप्राप्त निकायले गर्ने अनुसन्धानमा सहयोग गर्ने, आफूमाथि उठेका प्रश्नको कानुनसम्मत सामना गर्ने र न्यायालयको फैसलालाई सहज रूपमा स्वीकार गर्ने एमालेको मान्यता हो,” ज्ञवालीले भनेका छन् ।

प्रकाशित मिति: ८ असार २०८३, सोमबार

प्रतिक्रिया दिनुहोस्