२ करोड ५९ लाखको अवैध भेपसहित एक जना पक्राउ



सिन्धुपाल्चोक, ८ असार प्रहरीले सिन्धुपाल्चोकको बाह्रबिसेबाट २ करोड ५९ लाख ५० हजार रुपैयाँ बराबरको अवैध विद्युतीय चुरोट (भेप)सहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जुगल गाउँपालिका–४ का रामकुमार श्रेष्ठ रहेका छन् । उनलाई बाह्रबिसे नगरपालिका–३ खाग्दलबाट सोमबार ७ हजार ७ सय थान विद्युतीय चुरोट (भेप) र बोलेरो गाडीसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक जेसी शाहका अनुसार तातोपानीबाट बाह्रबिसेतर्फ आउँदै गरेको बोलेरो गाडीमा लुकाइछिपाइ अवैध रूपमा ल्याउँदै गरेको विभिन्न ब्रान्डका भेप बरामद गरिएको हो ।

प्रहरीले गोप्य सूचनाका आधारमा प्रदेश ०३–०१–०२४ च ९२१९ नम्बरको बोलेरो गाडी र श्रेष्ठलाई नियन्त्रणमा लिएको जनाएको छ । इलाका प्रहरी कार्यालय बाह्रबिसेबाट प्रहरी निरीक्षकको नेतृत्वमा खटिएको टोलीले भेपसहित उनलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार बरामद सामान र पक्राउ परेका श्रेष्ठलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि तातोपानी भन्सार कार्यालयमा बुझाइएको छ ।

प्रकाशित मिति: ८ असार २०८३, सोमबार

प्रतिक्रिया दिनुहोस्