बैंकका कर्मचारीमाथि धरपकड बन्द गरियोस्: अध्यक्ष कोइराला



काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले राजनीतिसँग बैंकिङ क्षेत्रको कुनै लेनदेन नरहेकाले यस क्षेत्रमा आक्रमण गर्न बन्द गर्नुपर्ने बताएका छन् । सोमबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष कोइरालाले बैंकका कर्मचारीमाथि धरपकड बन्द नगरे आफूहरू सहेर नबस्ने चेतावनी दिएका हुन् ।

कार्यक्रममा बोल्दै अध्यक्ष कोइरालाले भने, ‘राजनीतिसँग हाम्रो कुनै लेनदेन पनि छैन । कसले के राजनीति गर्ने भन्ने कुरामा चासो पनि राख्दैनौँ । तर राजनीति बढाउने क्रममा बैंक तथा वित्तीय संस्थाका कर्मचारी साथीहरूमाथि कुनैपनि प्रकारका धरपकडहरू हुन्छन्, धम्की र त्रास हुन्छ, कालोमोसो दलिन्छ, जुत्ताको माला लगाइन्छ भने हामी बैंकर्सहरु पनि त्यसलाई सहेर बस्दैनौँ ।’

आफ्नो राजनीतिक स्वार्थ पुरा गर्न बैंकका कर्मचारीहरूमाथि भएको आक्रमणको विरोध गर्ने उनले बताए । करिब ५० हजार नेपालीलाई रोजगारी दिएको भन्दै यस्तो गतिविधिले उनीहरू र परिवारमा कस्तो आघात पुग्छ भन्नेबारे ख्याल राख्न पनि उनले आग्रह गरे ।

केही समय अगाडी ज्योती विकास बैंकका कर्मचारीमाथि भएको आक्रमणको उनले विरोध गरे । कानूनी राज्य भएकाले सबैले कानूको पालना गर्नुपर्ने र त्यस्तो खालको क्रियाकलाप बन्द गर्नुपर्ने उनको भनाई छ ।

नियामक निकायदेखि बैंकिङ कसुर ऐनहरू रहेकाले आफूहरू त्यस अनुसार नै अगाडी बढ्ने उनले स्मरण गराए ।

प्रकाशित मिति: १४ पुस २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्