झापामा ६० हजारभन्दा बढी आर्थिक प्रतिष्ठानको गणना सम्पन्न



झापा। झापामा दोस्रो राष्ट्रिय आर्थिक गणनाअन्तर्गत जिल्लाभरका ६० हजार ६५४ आर्थिक प्रतिष्ठानको गणना सम्पन्न भएको छ। आर्थिक गणनाको स्थलगत कार्य असार मसान्तसम्म सम्पन्न भएको हो।

जिल्ला आर्थिक गणना कार्यालय भद्रपुरका निर्देशक एवं आर्थिक गणना अधिकारी चूडामणि लुइँटेलका अनुसार गणनाका क्रममा व्यवसाय, उद्योग, संघ–संस्था लगायतका ६० हजार ६५४ आर्थिक प्रतिष्ठानको विवरण सङ्कलन गरिएको छ। तीमध्ये भद्रपुर आर्थिक गणना कार्यालयमार्फत ३३ हजार १०३ र दमक आर्थिक गणना कार्यालयमार्फत २७ हजार ४४४ प्रतिष्ठानको विवरण सङ्कलन गरिएको थियो। थप १०७ प्रतिष्ठानले अनलाइनमार्फत विवरण दर्ता गरेका थिए।

गणनाको विवरणअनुसार जिल्लाका ती प्रतिष्ठानमा एक लाख ८९ हजार ७ जना व्यक्ति तलबी तथा स्वरोजगारमा आबद्ध रहेको पाइएको छ।

झापाको प्रमुख व्यापारिक केन्द्र बिर्तामोड नगरपालिकामा सबैभन्दा बढी ११ हजार ६७५ आर्थिक प्रतिष्ठान रहेका छन्। त्यसपछि मेचीनगर नगरपालिकामा १० हजार १३६ र दमक नगरपालिकामा ८ हजार १७४ प्रतिष्ठान रहेका छन्। सबैभन्दा कम प्रतिष्ठान झापा गाउँपालिकामा १ हजार ४४ वटा रहेको गणनाले देखाएको छ।

गणनाअनुसार भद्रपुर नगरपालिकामा ४ हजार १८४, अर्जुनधारा नगरपालिकामा ३ हजार ७८४, बुद्धशान्ति गाउँपालिकामा ३ हजार ६३३, कनकाई नगरपालिकामा ३ हजार ५६४, शिवसताक्षी नगरपालिकामा ३ हजार ४५४, गौरादह नगरपालिकामा २ हजार ५५९, कचनकवल गाउँपालिकामा १ हजार ९३७, कमल गाउँपालिकामा १ हजार ९३७, बाह्रदशी गाउँपालिकामा १ हजार ५६६, हल्दिबारी गाउँपालिकामा १ हजार ५३८, गौरीगञ्ज गाउँपालिकामा १ हजार ३६२ र झापा गाउँपालिकामा १ हजार ४४ वटा आर्थिक प्रतिष्ठान रहेका छन्।

आर्थिक क्रियाकलापका १७ वटा क्षेत्रअन्तर्गत पर्ने सानादेखि ठूला आर्थिक एकाइहरूलाई गणनामा समावेश गरिएको थियो। दोस्रो राष्ट्रिय आर्थिक गणनाको स्थलगत गणना कार्य वैशाख २ गतेदेखि सुरु भई असार मसान्तमा सम्पन्न भएको हो।

प्रकाशित मिति: २ श्रावण २०८३, शनिबार

प्रतिक्रिया दिनुहोस्