खेलकुदमन्त्री बब्लुमाथि शिक्षामन्त्री महावीरको व्यंग्य- विदेश घुमेर अर्थतन्त्र सुधार हुन्छ ?
काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विदेश मोहमा फसेका युवा तथा खेलकुदमन्त्री बब्लु गुप्तामाथि व्यंग्य गरेका छन् ।
गैरआवासीय नेपाली संघ अमेरिका (एनआरएनए एनसीसी अमेरिका)ले विदेश भ्रमणमा बोलाएको भन्दै मन्त्री गुप्ताले त्यसतर्फ जाने तयारी गरेका थिए । एनआरएनए एनसीसी संघले आधिकारिक विज्ञप्तिमा मन्त्री गुप्तालाई अमेरिकामा कुनै पनि कार्यक्रमका लागि आमन्त्रण नगरिएको स्पष्ट पारेपछि मन्त्री गुप्ता विवादमा तानिएका छन् ।
शुक्रबार समाजिक सञ्जाल फेसबुकमा शिक्षामन्त्री महावीर पुनले खेलकुदमन्त्री गुप्ता अमेरिका जाने विषयमा विवादमा तानिएपछि विदेश घुमेर अर्थतन्त्र सुधार नहुने भन्दै व्यंग्यात्मक टिप्पणी गरेका हुन् ।
उनले लेखेका छन्- लौ जा, म मन्त्री भए पछि पहिला पनि निमन्त्रणा आएको तीन वटा विदेश भ्रमणमा गईन । अहिले पनि दुई वटा निमन्त्रणा आएछ । यसमा पनि जान्न। देशको अर्थतन्त्र नसुधारे सम्म जो सुकै प्रधान मन्त्री र अर्थ मन्त्री आए पनि केहि प्रगति हुनेवाला छैन किन भने केहि गर्न पैसा चाहिन्छ। विदेश घुमेर अर्थतन्त्र बन्छ ?
मन्त्री पुनले आफूलाई मन्त्री भएपछि पटकपटक विदेश भ्रमणको निमन्त्रणा आएको तर आफूले अस्वीकार गरेको दाबी गरे । त्यस्तै देशको अर्थतन्त्र नसुधारेसम्म जुनसुकै प्रधानमन्त्री वा अर्थमन्त्री आए पनि देशको विकास नहुने भन्दै विदेश घुमेर अर्थतन्त्र सुधार हुन्छ ? भन्दै प्रश्न गरेका छन् ।
प्रकाशित मिति: २५ पुस २०८२, शुक्रबार
















