अन्ततः अमेरिका जानबाट ‘ब्याक’ भए खेलकुदमन्त्री गुप्ता



काठमाडौं । चौतर्फी रुपमा विरोध भएपछि अन्ततः युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता अमेरिका भ्रमणमा नजाने भएका छन् । उनका प्रमुख स्वकीय सचिव विनोद रिमालले मन्त्री गुप्ता अमेरिका नजाने तय भएको जनाएका हुन् ।
मन्त्री गुप्ताले फर्जी आयोजक र फर्जी निम्तोपत्र बनाएर अमेरिका भ्रमण स्वीकृत गराएको भन्दै चौतर्फी आलोचना भएको थियो ।

नक्कली निमन्त्रणा बनाई ‘जेनजी आन्दोलनपछि नेपालको विकासमा गैरआवासीय युवाहरूको भूमिका’ विषयक कार्यक्रममा भाग लिन उनी अमेरिका जान लागेको भन्दै व्यापक आलोचना भएको हो ।

मन्त्रिपरिषद्को पुस २१ गते बसेको बैठकले मन्त्री गुप्तालाई अमेरिकामा आगामी ३ माघमा आयोजना हुने ‘रोल अफ एनआरएनए युथ इन द डेभलपमेन्ट अफ नेपाल पोस्ट जेनजी रिभोल्युसन’ सम्बन्धी कार्यक्रममा सहभागी हुने भनी भ्रमण स्वीकृति प्रदान गरेको थियो ।

नेपाल सरकार वा अमेरिकामा रहेको नेपाली दूतावास तथा अमेरिकी सरकारको अभिलेखमा नभएको आयोजक देखाई मन्त्रीको हैसियतमा मन्त्रिपरिषद्बाट भ्रमण स्वीकृत गराउनु अनियमित र गैरजिम्मेवार भएको भन्दै विरोध भएको थियो ।

एउटा गैरआवासीय नेपाली संघ (एनआरएनए–अमेरिका) को निम्तोमा अमेरिका जान लागेका युवा तथा खेलकुद मन्त्री बब्लु गुप्तालाई अर्कोले ‘निम्तो नगरेको’ भन्दै विज्ञप्ति निकालेपछि विवाद उत्पन्न भएको थियो ।

विकास उप्रेती अध्यक्ष रहेको एनआरएनए–अमेरिकाको निमन्त्रणामा मन्त्री गुप्ता आगामी माघ ३ गते अमेरिका जाने तयारीमा थिए । तर अर्को एनआरएनए–अमेरिकाको नामबाट मन्त्री गुप्तालाई अमेरिका बोलाउने कुनै कार्यक्रम नरहेको भनेर बिहीबार विज्ञप्ति आएपछि यो विषय थप विवादित बनेको हो।

मन्त्री गुप्तालाई अमेरिका बोलाउने र उनलाई बोलाइएको छैन भनेर विज्ञप्ति निकाल्ने एनआरएनए–अमेरिका फरक फरक हुन्। सतेन्द्र शाह अध्यक्ष रहेको एनआरएनए–अमेरिकाले मन्त्री गुप्तालाई बोलाएको छैन भनेर विज्ञप्ति निकालेको हो।

गुप्ता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य भएको सार्वजनिक भएपछि प्रधानमन्त्री सुशीला कार्कीले गुप्तासहित रास्वपाका उपसभापति बनेका उर्जामन्त्री कुलमान घिसिङलाई राजीनामा दिन आग्रह गरेकी थिइन् ।

लगत्तै मन्त्री गुप्ताले अमेरिका भ्रमण सकेर आएपछि मात्रै राजीनामा दिने बताएका थिए । तर, उनी अमेरिका जान भने नपाउने भएका छन् । घिसिङले राजीनामा दिइसकेको अबस्थामा अब गुप्ताले कहिले राजीनामा दिन्छन् त्यो भने पर्खाइको विषय बनेको छ ।

प्रकाशित मिति: २५ पुस २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्